जनकपुरधाम- प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना संकटको समयमा प्रदेश सरकारले सोचेअनुसार काम गर्न नसकेको बताएका छन्। संकटको अवस्थामा ‘डेडलक’ को अवस्था देखिएको उनको भनाइ छ।
बुधबार सुरु भएको प्रदेशसभाको चौथो अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले संकटको समयमा पनि ‘डेडलक’ को अवस्था देखिनु दुर्भाग्यपूर्ण रहेको बताए ।
‘एक वर्षदेखि ‘डेडलक’ को अवस्था छ, संकट र विकास निर्माणमा जुनखाले सक्रिया हुनुपर्दथ्यो हुन सकेन,’ उनले भने, ‘जुन किसिमको हाम्रो प्रभावकारिता हुनुपर्दथ्यो, अहिलेको संकटको समयमा जसरी सक्रिय हुनुपर्दथ्यो सबै काममा एउटा ‘डेडलक’ जस्तो देखिएको छ। नयाँ संरचनाको लागि यो दुर्भाग्यपूर्ण छ।’
राउतले सबै समस्याका बीच प्रदेश सांसदहरुको भावनाअनुसार सरकारले नीति तथा कार्यक्रम ल्याउने विश्वास दिलाएका छन्। गत आर्थिक वर्षमा सम्पन्न भएका योजनाहरुको भुक्तानी नहुँदा सबैले दुःख पाए पनि अब त्यसो नहुने उनले बताए।
‘भुक्तानी नहुँदा सबैले दुःख पायौं, सबैको बक्यौता रकम भुक्तानी हुन्छ,’ राउतले भने, ‘सबैले पैसा पाउने छन्, नीति तथा कार्यक्रम र बजेटमै राखेर सरकार अघि बढिरहेको छ । सबैको भुक्तानी हुन्छ।’
पछिल्लो आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा त्रुटि भएको हुन सक्ने भन्दै राउतले प्रदेश सरकार त्यसलाई सुधार गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।