काठमाडौं – कोरोना (कोभिड–१९) को संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले १० अर्ब रुपैयाँ खर्च गरेको छ। कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकमा खर्चको विवरण सार्वजनिक गरिएको हो।
बैठकमा खर्चको विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायण विडारीले हालसम्म सरकारले कोरोनाको शिर्षकमा ९ अर्ब ८७ करोड रुपैयाँ खर्च भएको बताए।
सो रकम कोरोना नियन्त्रण उपचार, क्वारेन्टाइन निर्माण र राहत वितरणका लागि खर्च भएको हो। विडारीका अनुसार कोरोना महामारी नियन्त्रण कोष, सरकारबाट विनियोजित रकम र प्रदेश तथा स्थानीय सरकारले गरी ९ अर्ब ८७ करोड रुपैयाँ खर्च भएको हो।
विडारीले भने, ‘अझै स्थानीय तहबाट भएको खर्चको विवरण आएको छैन। कोरोना कोष र संघीय सरकारबाट ६ अर्ब ३ करोड, प्रदेशहरुबाट १ अर्ब ८ करोड र स्थानीय तहहरुबाट २ अर्ब ७६ करोड रुपैयाँ खर्च भएको छ।’
सरकारले बनाएको कोरोना संक्रमण, नियन्त्रण तथा उपचारका लागि बनाएको कोषमा भने हालसम्म २ अर्ब ३१ करोड ५५ लाख ८४ हजार ४२० रुपैयाँ विभिन्न क्षेत्रबाट सहयोग भएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।
समिति बैठकमा तहगत रुपमा लकडाउन खुकुलो पार्दै लैजाने गरी मस्यौदा तयार गरी सरकारलाई बुझाउने समझदारी पनि बनेको छ।