इटहरी- सन १९५० को जुन ३ मा हिमाल आरोहणका क्षेत्रमा सनसनीपूर्ण खबर फैलियो। आठ हजार मिटरभन्दा अग्लो हिमालमा पहिलो पटक आरोहण गरिएको खबर थियो त्यो।
फ्रान्सेली आरोहण दल ८०९१ मिटर उचाइँको विश्वको दशौं अग्लो चुचुरोमा पहिलोपटक पुगेपछि नेपालको चर्चा पनि विश्वभर भयो।
अन्नपूर्ण चुचुरोमा भएको त्यो ऐतिहासिक आरोहणको आज ७० वर्ष पुगेको छ। सात दशकअघिको त्यो पहिलो आरोहणका आठ रोचक पक्ष:
दुई सदाबहार पुस्तक
नेपाली मिति अनुसार २००७ जेठ २१ गते भएको प्रथम अन्नपूर्ण आरोहण टोलीका नाइके मौरिस हर्जोग र टोलीका सदस्य लियोनल टेरीका आ–आफ्ना आत्मकथा प्रकाशित छन । दुबै पुस्तकलाई न्याशनल ज्योग्राफिक च्यानलको एडभेन्चर म्यागाजिनले सय सदाबहार पुस्तकको सूचीमा समावेश गरेको छ।
हर्जोगको पुस्तक ‘अन्नपूर्ण’ सूचीको छैटौँ नम्बरमा छ भने टेरीको पुस्तक ‘कनकिस्तार्दोस अफ द युजलेस’ ८५ औं नम्बरमा छ।
अझ रोचक कुरा त नेपालका अन्तिम राणा प्रधानमन्त्री मोहन शम्शेरको पालामा भएको आरोहणपछि प्रकाशित ‘अन्नपूर्ण’ बाट अलिकती नेपाल यो देशको नामै नसुनेका विश्वका धेरै नागरिकका हात हातमा पुग्यो।
उक्त किताब सन २००० सम्ममा १ करोड १० लाख प्रति बिक्रि भएको न्यू योर्क टाइम्सले उल्लेख गरेको छ । यस्तै फ्रान्सको सरकारी समाचार संस्था फ्रान्स २४ को एक समाचार अनुसार विभिन्न ४० भाषामा अन्नपूर्णको अनुवाद भएको छ ।
फ्रान्सलाई ऐतिहासिक सम्मान
अन्नपूर्ण हिमाल अरोहण अगाडि फ्रान्सले हिमाल आरोहणमा कुनै रेकर्ड बनाउन सकेको थिएन। आठ हजार मिटरभन्दा अग्ला शिखर आरोहणमा फ्रान्सको प्रयास नै निकै कम थियो। आरोहण दलको संख्या पनि उसका छिमेकी देशको दाँजोमा निकै थोरै थियो।
आरोहणका गाइड लियोनल टेरीले आत्मकथाको सातौं अध्याय ‘अन्नपूर्ण’ मा व्याख्या गरेका छन्, ‘अन्नपर्ण आरोहणपछि सबैभन्दा पहिलो सम्मान नेपालले दियो। अन्तिम राणा प्रधानमन्त्री मोहन शम्शेरले हर्जोगलाई दरबारमा बोलाएर पदक (गोर्खा अर्डर)ले सम्मानित गरे।’
त्यसबेला हर्जोग टोलीका अन्य साथीहरुलाई दिल्ली यात्राको प्रवन्ध मिलाएर पदक पाउने अन्य तीन साथीसँगै काठमाडौं आएका थिए। मोहन शम्शेरले उनीहरुको यात्राका लागि जिबी रानालाई गोरखपुरसम्म पठाएका थिए। उनै रानासँग हर्जोग काठमाडौं आए। काठमाण्डौबाट जुलाइ १२ मा भारत हुँदै फ्रान्स फर्किएका थिए हर्जोग ।
चन्दा उठाएर आरोहण
अन्नपूर्ण हिमाल आरोहणको सुरुआत भने निकै गाह्रो भएको आरोहण दलका गाइड तथा मकालु हिमालका प्रथम आरोही लियोनल टेरीले आफ्नो आत्मकथा ‘कनकिस्तार्दोस अफ द युजलेस’मा उल्लेख गरेका छन्।
त्यसबेला आरोहण टोलीलाई फ्रान्स सरकारले न्यूनतम खर्चको आधा अर्थात जम्मा ६० लाख फ्रांक मात्रै सहयोग गरेको थियो। सरकारबाट सम्पूर्ण रकम नपाएपछि फ्रान्सेली टोलीले फ्रान्सेलीका घरघर पुगेर पैसा उठाएको टेरीको पुस्तकमा उल्लेख छ।
तत्कालीन बैंक अफ पेरिसका सभापति लुइस वुइब्राते, पेरिस फ्याकल्टी अफ ल का प्रोफेसर जिन इस्कारा लगायतले पनि यो टोलीलाई सहयोग गरेका थिए।
दुख दिने भारतीय भन्सार अधिकृत
फ्रान्सेली टोली पेरिसबाट दिल्ली र त्यहाँबाट नेपाल आउँदै थियो। आरोहण दलसँग करिब ६ टन सामाग्री थियो। भारत भर्खरै बेलायती उपनिवेशबाट स्वतन्त्र भएको त्यो बेला भारतीय भन्सारका कर्मचारीले सबै सामान एक एक गरी खोल्न लगाएर असरल्ल पारिदिन थालेछन्।
आरोहण दलका नेता मौरिस हर्जोग र गाइड लियोनल टेरी दुवैले आफ्नो आत्मकथामा लेखेका छन्, ‘भारतका लागि फ्रान्सेली राजदूत डालियल लेभीले व्याक्तिगत र कुटनीतिक स्तरमा पहल गरेपछि मात्रै हामीलाई केही सहज भयो।’
धौलागिरीमा नसकेपछि अन्नपूर्ण
फ्रान्सेली टोलीले सुरुमा धौलागिरी आरोहणको प्रयास गर्यो। सगरमाथाको आरोहणको प्रयास गरिसकेका सोलुखुम्बुको थामेका शेर्पा आरोही आङ थार्के जस्ता होनहार सहयोगी साथमा भए पनि टोलीले धौलागिरी छिचोल्न सकेन।
पूर्वी मोहोडा र उत्तर पूर्वी मोहोडा दुबैतर्फबाट गरिएको प्रयासमा टोली ६०० फिटभन्दा माथि जान नसकेपछि उनीहरु अन्नपूर्णतर्फ लागेका थिए।
द्रुत आरोहण
पेरिसबाट दिल्लीसम्म विमानमा आएको आरोहण दल त्यहाँबाट स्थलमार्ग हुँदै अप्रिल ५ मा नेपाल प्रवेश गरेको हर्जोगले आत्मकथामा उल्लेख गरेका छन।
कपिलवस्तु, बुटवल, बाग्लुङ हुँदै उनीहरु टुकुचे पुगेर धौलागिरी आरोहणको प्रयास गरेका थिए। धौलागिरी आरोहणको प्रयासमै अप्रिल २२ देखि मे १४ सम्मको समय लागेको थियो।
हर्जोग अन्नपूर्ण आधार शिविरमा मे १८ मा पुगेका थिए। त्यसको १५ दिनमै हर्जोगको नेतृत्वमा फ्रान्सेली टोलीले चुचुरोको सफल आरोहण गरेको थियो।
सन १९५० जुन ३ को दिँउसो दुई बजे शिखरमा पुगेको हर्जोगले उल्लेख गरेका छन। अन्नपुर्ण हिमाल आरोहणका लागि गाह्रोमध्येको हिमाल मानिन्छ । पर्यटन विभागको तथ्यांक अनुसार सन २०१६ को अन्तसम्ममा २६७ आरोही मात्रै अन्नपूर्ण शिखरमा पुग्न सफल भएका छन्। आधार शिबिर ट्रेकिङमा भने अन्नपूर्ण नेपालमा सबैभन्दा धेरै पदयात्री पुग्ने गन्तव्य हो ।
टोली नाइके नै प्रथम आरोही
नेपालमा आठ हजार मिटर माथिका अधिकांश चुचुरोको प्रथम आरोहण हुँदा टोलीका नेता शिखरमा पुगेका छैनन्। जस्तो सर्वोच्च शिखर सगरमाथाको प्रथम आरोहणका बेला टोलीका नाइके जोन हन्ट थिए । तर, उनी शिखरमा पुग्न सकेनन्। प्रथम आरोही एडमन्ड हिलारी र तेन्जिङ नोर्गे भए ।
विश्वको तेस्रो अग्लो हिमाल कंचनजंघाको प्रथम आरोहण पनि जोए ब्राउन र जर्ज व्यान्डले गरेका थिए। जबकि उक्त टोलीको नाइके थिए, चाल्र्स इभान्स।
यस्तै चौथौ अग्लो ल्होत्सेको प्रथम आरोहण दलका नेता अल्बर्ट इग्लर हुन्। तर प्रथम आरोही हुन पुगे फ्रित लुसिङ्गर र अर्नेस्ट रेइस । विश्वको पाँचौ अग्लो शिखर मकालुका प्रथम आरोही जिन कोजी र लियोनल टेरी हुन्। यो टोलीमा नाइके जिन फ्रांको थिए।
तर, अन्नपूर्णको प्रथम आरोहण भने लुइस लाचेनसँगै टोली नाइके हर्जोगले पनि गरे।
कष्टपूर्ण आरोहण
अन्नपुर्णको आरोहणका बेला आरोही हरर्जोगले दुवै हात र दुवै खुट्टाका औंला गुमाए । पन्जा र मोजाबाट हिँउ छिरेर उनका औंला खायो। हर्जोगसँगै चुचुरामा पुगेका लुइसका पनि दुवै खुट्टाका औँला गुमे ।
ओर्लंदा हर्जोग र अरु दुइ शेर्पा सहयोगी चिप्लिएर १५० मिटर तलसम्म खसे पनि बच्न सफल भए। लियोनल टेरी र उनका साथी रेबुफाट हिँउले गर्दा हुने आँखा नदेख्ने समस्या ‘स्नोब्लाइन्ड’ बाट पीडित भएका थिए ।