जनकपुरधाम- प्रदेश २ मा बुधबार ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। ४४ जना थपिएसँगै प्रदेश २ मा कोरोनाबाट संक्रमित हुनेको संख्या ८५९ पुगेको छ।
बुधबार जनकपुरधाम उपमहानगरपालिकामा कार्यरत एकजना ट्राफिक प्रहरी हवल्दारका साथै सर्लाहीकी एकजना ११ वर्षीया बलिकामा समेत संक्रमण पुष्टि भएको छ ।
प्रदेशसभाको चौथौ अधिवेशन सुरुहुनुपूर्व प्रदेश सांसदहरुसँगै स्वाब दिएका ट्राफिक प्रहरी हवल्दारमा संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि भएका ट्राफिक हवल्दार मंगलबारमात्रै आफ्नो गाउँ सप्तरी गएको स्रोतले बताएको छ।
यता, सर्लाहीमा ११ वर्षीया एक बालिकासहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
यसैगरी महोत्तरीमा ९, रौतहटमा ११ र पर्सामा ७ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले जानकारी दिए।
बुधबार संक्रमण पुष्टि भएका सप्तरी, महोत्तरी, सर्लाही, रौतहट र पर्साका सबैजना भारतबाट आएर आआफ्नो स्थानीय तहको क्वारेन्टिनमा बसिरहेको उनले बताए।