काठमाडौं- नेपाली कांग्रेसले कर तिर्न सरकारले गरेको ताकेताको भद्र अवज्ञा गर्न आग्रह गरेको छ।
सभापति शेरबहादुर देउवाले प्रेस विज्ञप्ति जारी गर्दै कर तिर्ने ताकेताको भद्र अवज्ञाको बाहेक अर्को विकल्प नरहेको उल्लेख गरेका छन्।
‘नागरिकले तिर्ने करले नै मुलुक चल्ने हो, तर करदाताले प्रतिकूल परिस्थिति भोगिरहेका बेला सहजीकरण गर्ने कर्तव्य र जिम्मेवारी सरकारको हो । सरकारले त्यो जिम्मेवारी निर्वाह नगरेर अनुदार ढंगले ताकेता गर्दा त्यसलाई भद्र अवज्ञा गर्नु भन्दा अर्को विकल्प नागरिकको रहंदैन।’ सभापति देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
सरकारलाई समयको गम्भीरताप्रति गम्भीर बन्न माग गर्दै देउवाले कर तिर्नका लागि निर्धारित जेठ २५ गतेको मिति फिर्ता गरेर संवाद मार्फत समयावधि थप गर्न पनि माग गरेका छन्।
विज्ञप्तीमा भनिएको छ, ‘कोरोनाका कारण नागरिकको जीवन र मुलुकको अर्थतन्त्रले चुनौती भोग्नुपरेका बेला अनावश्यक खर्च घटाउन मितब्ययिताका लागि गर्नुपर्ने एवं गर्न सकिने निर्णय र कार्यमा सरकार गम्भीर भएन। व्यापक पीसीआर परीक्षण गरेर साना—ठुला ब्यवसाय क्रमशः संचालन गर्ने दिशामा आवश्यक पहलकदमी र ठोस कार्ययोजना सरकारसँग देखिएन। ब्यवसायिक क्षेत्रको चुनौतीलाई सहज बनाउन सरोकारवालाहरुसँग संवादका साथ सहजीकरण प्याकेज निर्माण गर्न तर्फ पनि सरकारको ध्यान गएन। तर लक डाउन जारी रहेकै बेला केवल कर तिर्न ताकेता गर्नुले सरकार गम्भीर र जिम्मेवार होइन दायित्व र संवेदना विहिन रहेको पुष्टि भएको छ।’