सुर्खेत- कर्णाली प्रदेशमा ५ महिने शिशुमा पनि कोरोना संक्रमण देखिएको छ।
कालिकोटको महाबै गाउँपालिका–४ का ४ महिने २८ दिनका शिशुमा कोरोना पोजेटिभ देखिएको हो।
उनी बाबुआमासहित केही दिनअघि भारतबाट गाउँ फर्किएका थिए। आमाको रिपोर्ट नेगेटिभ र बुवाको पोजेटिभ आएको जनस्वास्थ्य सेवा कार्यालय कालिकोटका प्रमुख भीष्म पोखरेलले जानकारी दिए।
‘बच्चामा कोरोना पोजेटिभ देखिएको छ तर आमाको रिपोर्ट नेगेटिभ आएको छ’ उनले भने, ‘बच्चालाई पखाला चलिरहेका कारण कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान जुम्ला पठाउने तयारी गरिरहेका छौँ।’
आज बिहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणमा ती शिशुसहित १६ जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख लक्ष्मी तिवारीले जानकारी दिए।
नयाँ संक्रमितमध्ये दैलेखको नौमुले गाउँपालिका वडा नं. ८ का ८ का १ जना, नारायण नगरपालिका वडा नं. २ का ५ जना, दुल्ल नगरपालिका वडा नं. २ का १ जना रहेका छन्।
त्यस्तै कालिकोटको महाबै गाउँपालिका वडा नं. २ का ५ जना, वडा नं. २ का १ जना वडा नं.४ का १ जना, तिलागुफा नगरपालिका डा नं. २ का १ जना, पलाँता गाउँपालिका वडा नं. ७ का १ जना, शुभकालिका गाउँपालिका वडा नं. ३ का १ जना र सान्नीत्रिवेणी गाउँपालिका वडा नं. १ का १ जना रहेका छन्।
त्यस्तै सल्यानको कुमाख गाउँपालिका वडा नं. ३ का २ जना पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको छ।
योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २ सय ६७ पुगेको छ भने प्रदेशका प्रयोशालामा परीक्षण गर्दा सुदुरपश्चिमका बझाङ, बाजुरा र अछामकासहित २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छन्।
संक्रमितमध्ये दैलेखका १ सय ५, सुर्खेतका ६२, सल्यानका ५५, जुम्लाका १९, कालीकोटका २४, मुगुका १ र मुगुका १ जना रहेका छन्। हालसम्म दैलेखमा एक जनाको मृत्यु भइसकेको छ।
