काठमाडौं– कोरोना भाईरस संक्रमण हुने भन्दै बजारमा पठाउन लागिएको हरियो तरकारी नष्ट गर्ने घटना भएपछि गृह मन्त्रालयले त्यसरी तरकारी नष्ट नगर्न निर्देशन दिएको छ।
गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै तरकारी नष्ट नगर्न र कसैले जबरजस्ती गरे कारबाही गर्न समेत निर्देशन दिएको हो।
गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले तरकारी निर्वाध रुपमा बजारसम्म पु¥याउने व्यवस्था मिलाउन सबै जिल्ला प्रशासनलाई परिपत्र गरिएको जानकारी दिए।
सोमबार कास्कीमा चितवन र धादिङबाट लगिएको तरकारी नष्ट गरिएको थियो। त्यसअघि कपिलवस्तुबाट अर्घाखाँची लगिएको तरकारी पनि सीमा क्षेत्रमै रोकेर नष्ट गरिएको थियो।
यी घटनाको चौतर्फी विरोध भएपछि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले गृहलाई पत्र लेख्दै तरकारीलगायत कृषि उपजको ढुवानी रोकेर नष्ट नगर्न आग्रह गरेको थियो।
साथै मन्त्रालयले स्वदेशी उत्पादन नष्ट गर्नेमाथि कारबाही गर्नुपर्ने जनाएको थियो।
कोरोना संक्रमण हुने भन्दै स्वदेशमा उत्पादित तरकारी नष्ट गरिए पनि त्यो भन्दा धेरै ठूलो परिमाणमा भारतबाट हुने आयात भने निर्वाध चलिरहेको छ।