धनगढी- कैलालीको सेती अञ्चल अस्पताल र टीकापुर अस्पतालमा रहेका आइसोलेसन वार्ड भरिएपछि बिरामी राख्न समस्या भएको छ ।
आइसोलेसन वार्ड भरिएपछि थप सङ्क्रमित राख्न समस्या भएको अस्पतालले जनाएको छ । कैलालीका यी दुवै अस्पतालमा रहेका आइसोलेसन वार्डमा सङ्क्रमित बिरामी भरिएपछि समस्या भएको हो ।
अब संक्रमित राख्नका लागि बेड नै नभएको जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए । उनका अनुसार तत्काल अर्को ठाउँ तयार नपारे विरामी राख्नै नसक्ने स्थिति बनेको छ ।
मङ्गलबार कैलालीका १० जनामा कोरोना पुष्टि भएपछि सङ्क्रमितलाई राख्न आइसोलेसन वार्डमा श्यया अभाव भएको सेती अञ्चल अस्पतालले जनाएको छ ।
सेती प्रादेशिक अस्पतालसँग २४ श्यया र टीकापुर अस्पतालमा १२ श्ययाको आइसोलेसन वार्ड छ । सेतीमा बिरामीको सङ्ख्या २५ पुगिसकेको छ । अझै गौरीगङ्गाका पाँच सङ्क्रमितलाई पनि सेती अस्पताल लैजाने तयारी भएको छ ।
अस्पतालका मेसु डा हेमराज पाण्डेले श्यया अभाव भएकाले बिरामीलाई कहाँ राखेर उपचार गर्ने भन्ने समस्या भएको बताए । “सङ्क्रमित दैनिक थपिन थालेका छन्”, पाण्डेले भने, “अब बिरामी कहाँ राखेर उपचार गर्ने भन्ने विकल्प खोजिनुपर्छ ।”
टीकापुर अस्पतालमा १२ श्ययाको आइसोलेसन वार्ड छ । यहाँ १३ जनाको उपचार भइरहेको छ । टीकापुरमा मङ्गलबार चार जनामा सङ्क्रमण देखिएपछि एक जनालाई श्यया अभाव हुँदा अस्पतालका अन्य वार्डमा रहेको श्यया प्रयोग गरेर बिरामी राख्नुपरेको अस्पतालले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले दुवै अस्पताल भरिएकाले अब अन्य ठाउँमा पनि विकल्प खोजी गरी बिरामी राख्ने व्यवस्था गर्न आवश्यक रहेको बताए ।
सेती अस्पतालमा ५० श्ययाको कोरोना अस्पताल निर्माणपछि हस्तान्तरण भइसकेको छ तर उपकरण जडान बाँकी रहेकाले सञ्चालनमा आउन सकेको छैन । “यो अस्पताल सञ्चालनमा आएपछि केही राहत हुन्छ”, धामीले भन्नुभयो, “त्यसबाहेक अन्य अस्पताललाई पनि तयारी अवस्थामा राख्न जरुरी छ ।”
व्यवस्थापनमा खटेकाको पिसीआर परीक्षण
टीकापुरमा पहिलोपटक चार जनामा कोरोना सङ्क्रमण देखिएपछि कर्णाली मावि टीकापुरको क्वारेन्टिनमा रहेका सबैको पिसीआर परीक्षण गरिने भएको छ ।
क्वारेन्टिनमा रहेका ९९ र उनीहरुको व्यवस्थापनमा खटेका कर्मचारी र स्वास्थ्यकर्मीको स्वाब सङ्कलन गर्न थालिएको टीकापुर नगरपालिकाले जनाएको छ ।