एक अनुसन्धानका अनुसार यूट्यूबमा उपलब्ध कोभिड– १९ सँग जोडिएका भिडियोमध्ये एक चौथाईमा भ्रामक जानकारी मात्रै छ।
कोरोना भाइरसका कारण विश्वभर लाखौं मानिसको मृत्यु भइसकेको छ, यसको चपेटामा परेकाको संख्या ६० लाख नाघिसकेको छ।
दुनियाभरका वैज्ञानिक संक्रमणविरुद्धको खोप र औषधि बनाउन मिहिनेत गरिरहेका छन्। तर, अहिलेसम्म यसको खोप वा औषधि बनिसकेको छैन।
नोभेल पुरस्कार विजेता प्रतिरक्षा विशेषज्ञ प्राध्यापक पीटर डोहर्टीका अनुसार कोभिड– १९ को औषधि बन्नका लागि अपेक्षाकृत कम समय लाग्नु पर्छ । किनभने औषधिको सुरक्षा जाँच खोपको भन्दा सरल हुन्छ। तर जबसम्म वैज्ञानिकले सुरक्षित र प्रभावकारी खोप वा औषधि बनाउँदैनन्, कोरोना भाइरसको संक्रमण हुनै नदिनु नै यसबाट बच्ने उत्तम उपाय हो।
अहिले सामाजिक सञ्जालदेखि आम कुराकानीमा कोरोना संक्रमणबाट बच्ने उपाय र त्यससँग सम्बन्धित जानकारीको ओइरो लागिरहेको छ।
महामारीका बेला ठिक जानकारी हासिल नहुनु निकै घातक हुन्छ । अन्तर्राष्ट्रिय जर्नल बीएमजे ग्लोबल हेल्थमा प्रकाशित रिसर्च पेपरको तथ्यांक अनुसार भिडियो प्लेटफर्म यूट्यूबमा कोरोना भाइरस सम्बन्धी ठूलो संख्यामा भ्रामक र गलत जानकारीका भिडियो उपलब्ध छन्।
क्यानडाको ओटावा विश्विद्यालय र ओटावा अस्पतालका वैज्ञानिकले गरेको अनुसन्धानका अनुसार यूट्यूबमा कोरोना भाइरस सम्बन्धी बढी हेरिएका भिडियोमध्ये एक चौथाइमा गलत र भ्रामक जानकारी दिइएको छ।
कोरोना भाइरस र यससँग जोडिएका विषयमा उपयुक्त जानकारी दिने तमाम सरकारी च्यानल र विभिन्न संस्थाका भिडियोलाई भने निकै कम हेरिएको छ।
यो रिपोर्टबाट अनेक निस्कर्ष निकाल्न सकिन्छ। जसमा एउटा के पनि हो भने, सरकार र आधिकारिक संस्थाहरुले सूचना प्रसारका लागि नयाँ र रोचक तरिक खोज्नु जरुरी भइसकेको छ।
यसबाहेक सोशल मिडिया र यूट्यूबजस्ता पोर्टल्समा भ्रामक जानकारी पस्किरहेका भिडियो र अन्य स्रोतलाई चिह्नित गर्नका लागि अझै राम्रो तरिका खोजिनु पर्छ।
नजानेर नबोलौं
महामारी र संकटको परिस्थितिमा मानव मस्तिष्कले सामान्य रुपमा बच्नका लागि ‘शर्टकट्स’ खोज्न थाल्छ। यो सामान्य मनोविज्ञान हो।
तर यस्तो बेला गम्भीर र जिम्मेदार बन्नु झन् आवश्यक हुन्छ। विशेषरुपले ती मानिसहरु जो आफ्ना क्षेत्रमा प्रभावशाली र चर्चित छन् तर, महामारीबारे कम जानकार छन्।
यस्ता व्यक्तिले सार्वजनिक रुपमा केही बोल्नुअघि विशेषज्ञ वा उचित स्रोतसँग परमार्श गर्न जरुरी हुन्छ।
केही समयअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना संक्रमणबाट बच्नका लागि डिसइन्फेक्टेन्टको सुई लगाउनेसम्मको सल्लाह दिएका थिए।
त्यसलगत्तै डिसइन्फेक्टेन्ट बनाउने कम्पनीले त्यसो गर्न नहुने भन्दै औपचारिक सूचना जारी गरेको थियो भने धेरै चिकित्सकहरुले पनि डिसइन्फेक्टेन्टको सुई लगाउनै नमिल्ने र त्यसो नगर्न अपिल जारी गरेका थिए।
विश्वका धेरै देशका नेताहरु जो कोरोना भाइरसको संक्रमणबारे निकै कम जानकारी राख्छन् तीमध्ये केहीले विभिन्न खालका गलत जानकारी सार्वजनिकरुपमा प्रवाह गरेर मानवस्वास्थ्यमा खेलवाड गरिरहेका छन्। आफ्नो पदको ख्याल नगर्नु वा पदमा भएपछि विशेषज्ञता आफैं आउँछ भन्ने भ्रम पाल्नु उनीहरुको ठूलो कमजोरी भएको छ।
यो भाइरसका सबै रहस्य अझै पत्ता लागिसकेका छैनन्। जसलाई खोज्न वैज्ञानिकहरु दिनरात प्रयास गरिरहेका छन्। यि रहस्य खुलिसकेपछि औषधि र खोप बनाउन सजिलो हुनेछ।
सूचनाको बाढी लागेको यो समयमा कोभिड–१९ बारे सही जानकारी दिने संस्था र विशेषज्ञको पहिचान गर्नु जरुरी छ।
विश्व स्वास्थ्य संगठन, स्वास्थ्य मन्त्रालय वा अन्य विशेषज्ञ संस्थाले दिएका जानकारीमाथि मात्रै भरोषा गर्नुपर्छ। कोरोना भाइरसको महामारीबाट बच्न भ्रामक जानकारीको महामारीबाट पनि जोगिनु जरुरी छ।