सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • यस्तो छ लकडाउन खोल्ने ६ चरणको योजना, जेठ २५ बाट खुकुलो हुने

यस्तो छ लकडाउन खोल्ने ६ चरणको योजना, जेठ २५ बाट खुकुलो हुने

सरकारले साढे २ महिना लामो लकडाउन जेठ २५ गतेबाट खुकुलो बनाउने भएको छ भने ६ चरणको योजना बनाएर लकडाउन खोल्ने भएको छ ।
 |  बुधबार, जेठ २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २१, २०७७

सरकारले साढे २ महिना लामो लकडाउन जेठ २५ गतेबाट खुकुलो बनाउने भएको छ ।

आर्थिक गतिविधि ठप्प भएको र जनताको दैनिकी कष्टकर बनेको भन्दै आगामी आइतबारबाट लकडाउन खुकुलो बनाउने गरी सरकारले तयारी थालेको हो ।

कोरोना संक्रमणको उच्च जोखिममा रहेका क्षेत्रलाई नखोल्ने, अत्यधिक संक्रमित भएको जिल्लामा लकडाउन कायमै राख्ने र कम संक्रमित भएका तथा संक्रमणको जोखिम कम रहेका क्षेत्रहरु खुकुलो बनाउने गरी छलफल अघि बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले जानकारी दिए ।

उनका अनुसार क्षेत्र विभाजन गरेर लकडाउन खुकुलो बनाउने कार्ययोजना बनेको छ। उच्चस्तरीय समन्वय समितिको बैठकले कार्ययोजनालाई अन्तिम रुप दिएसँगै अब बस्ने मन्त्रिपरिषद् बैठकले त्यसलाई पारित गर्नेछ।

यसअघि वैशाख २६ गतेबाट लकडाउन खुकुलो बनाउने भनेर निर्णय भए पनि त्यो कार्यान्व्यन हुन सकेको थिएन।

उद्योगधन्दा खोल्ने भनिए पनि कसरी आवतजावत गर्ने, मजदुरलाई कसरी सुरक्षित राख्ने लगायतका समस्याका कारण उक्त निर्णय कार्यान्वयनमा समस्या देखा परेको थियो। यसपटक त्यस्ता समस्याको समाधान हुने गरी कार्यायोजना बनाइएको मन्त्री ढकालले बताए।

६ चरणको योजना बनाएर लकडाउन खोल्ने

सरकारले ६ चरणको योजना बनाएर लकडाउन पूर्णरुपमा खोल्ने भएको छ।

सरकारद्वारा गठित कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले विज्ञहरुको राय लिएर ६ चरणको योजना बनाएको हो। १२ साता लामो उक्त रणनीतिक योजनामा १० औं हप्ताको समीक्षापछि लकडाउन पूर्ण रुपमा खुला गर्न सकिने उल्लेख छ।

सीसीएमसीले बनाएको रणनीति उच्चस्तरीय समन्वय समितिमा पठाउने तयारी भएको छ। समितिले यसलाई पारित गरेपछि मन्त्रिपरिषदबाट निर्णय गराएर कार्यान्वयन गरिनेछ।

६ चरणको कार्ययोजनामा पहिलो चरण अर्थात् पहिलो दुई हप्ता कृषि, साना उद्योग, खुद्रा पसल लगायतका साना व्यवसाय आंशिक रुपमा खुला गरिनेछ।

दोस्रो चरणमा कृषि कार्यलाई पूर्ण रुपमा खुला गर्दै सम्पूर्ण वित्तीय संस्थाहरु आंशिक खुला गरिनेछ। तेस्रो चरणसम्म पत्रपत्रिकाको प्रकाशन बन्द गरेर अनलाइनलाई प्राथमिकतामा राख्ने प्रस्ताव गरिएको छ।

चौथो चरणबाट आशिंक रुपमा निजी र केही सार्वजनिक सवारीसाधन चल्न दिने योजना बनाइएको छ। यही चरणबाट आंशिक खुलिरहेका उद्योग, वित्तीय संस्था र अन्य निकाय पूर्ण रुपमा खोलिने प्रस्ताव गरिएको छ।

पाँचौं चरणमा ठूलो संख्यामा भिडभाड हुने अवस्थाका बाहेक सबै संघसंस्था, बजार र यातायात खोलिनेछ।

पाँचौं चरण अर्थात् दशौं हप्तासम्मकाे समीक्षापछि अवस्था ठिक ढंगले अघि बढे छैटौं चरणमा प्रवेश गर्ने योजना बनाइएको छ। छैटौं चरणबाट सामाजिक दूरी कायम राख्दै, मास्क अनिवार्य गरेर सबैजसो कार्यालय, यातायातका साधन र बजार खुला गरिनेछ ।

नेपालमा लकडाउन

पहिलो  : चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्म

दोस्रो : चैत २५ सम्म

तेस्रो : वैशाख ३ मध्यरातसम्म

चौथो : वैशाख १५ मध्यरातसम्म

पाँचौँ  : वैशाख २५ मध्यरातसम्म

छैटौँ  : जेठ ५ मध्यरातसम्म

सातौँ  : जेठ २० मध्यरातसम्म

आठौँ  : जेठ ३२ मध्यरातसम्म

प्रकाशित: Jun 03, 2020| 08:12 बुधबार, जेठ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।