काठमाडौं- लोक सेवा आयोगले विभिन्न पदका लागि सञ्चालन गर्ने परीक्षा र अन्तरवार्तामा सहभागी हुन पीसीआर माध्यमबाट कोरोना परीक्षण गरेको रिपोर्ट पेश गर्नु पर्ने भएको छ ।
लोक सेवाले राजपत्राङ्कित प्रथम श्रेणी, सहसचिव वा सोसरहको प्राविधिक तथा अप्राविधिक पदका विभिन्न विज्ञापनको द्वितीय चरणको परीक्षा र अन्तरवार्तामा सहभागी हुने उम्मेदवारलाई कोरोना परीक्षणको रिपोर्ट बुझाउन भनेको हो ।
प्रस्तुतीकरण र अन्तरवार्तामा सहभागी हुने उम्मेदवारमध्ये काठमाडौँ उपत्यका बाहिर कार्यरत रहेका वा काम विशेषले लकडाउन अवधिमा उपत्यका बाहिर गई आएका भएमा कोभिड १९ पीसीआर परीक्षणको सक्कल रिपोर्ट आयोगको केन्द्रीय कार्यालयको अन्तरवार्ता तथा सिफारिस शाखामा अनिवार्य बुझाउन भनिएको छ ।
स्वास्थ्य परीक्षणमा समस्या आएमा आयोगले सहजीकरणसमेत गर्ने सूचनामा उल्लेख छ।
लोक सेवा आयोगले अन्य विभिन्न पदका लागि सञ्चालन गर्ने परिक्षामा पनि कोरोना परीक्षणको रिपोर्ट माग गर्ने तयारी गरेको छ। आयोगले प्रथम चरणको परिक्षा पास गरेकाहरुको हकमा असारपछि विस्तारै दोस्रो चरणको परिक्षा सञ्चालन गर्ने भएको छ ।
