काठमाडौं- उपत्यकामा मंगलबार लकडाउन उल्लंघन गर्ने १८६० वटा सवारीसाधन नियन्त्रणमा लिइएको छ। तिनमा १५ सय ८४ वटा २ पांग्रे र २२२ वटा ४ पांग्रे रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए।
उनले भने, ‘आज बिहान ६ बजेदेखि बेलुका ६ बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो।’
उनले लकडाउन एउटा व्यक्ति वा समूहको फाइदाका लागि मात्र नभएर सम्पूर्णको सुरक्षाका लागि गरिएकाले उच्च सुरक्षा सतर्कता अपनाउन सबैसँग आग्रह गरे।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिनमा १५५ स्थान र रातमा ४५ स्थानमा चेकप्वाइन्ट राखी सवारीसाधन चेक गर्ने व्यवस्था मिलाएको छ। भित्री क्षेत्रका लागि भने मोटरसाइकलमा ट्राफिक प्रहरी खटाएको छ।
उपत्यकामा चैत ११ गतेदेखि आजसम्म लकडाउन उल्लंघन गर्ने ४७ हजार ३३८ वटा सवारीसाधन नियन्त्रणमा लिइसकेको महाशाखाले जनाएको छ।
पास भएकालाई पनि विशेष निगरानी
पास लिएर घुम्न निस्कने, तीव्र गतिमा कुदाउने, एक व्यक्तिका नाममा भएको पास अर्को व्यक्तिलाई दिने उपर महाशाखाले विशेष निगरानी गरी कारबाही गर्न थालेको जानकारी प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठले दिए।
सडक प्रयोगकर्तासँग प्रत्यक्ष सम्पर्कमा आउनुपर्ने ट्राफिक प्रहरीलाई कोरोना जोखिम न्यूनीकरणका लागि ट्राफिक प्रहरी महाशाखाले पीपीई र फेस सिल्डसहित ड्युटीमा खटाइएको प्रवक्ता एसपी श्रेष्ठले बताए।