काठमाडौं – प्रदेश नं ५ सरकारले प्रदेशमा कुनै पनि नागरिकको कोरोना संक्रमणका कारण मृत्यु भएमा मृतकको परिवारलाई रु एक लाख राहत उपलब्ध गराउने भएको छ।
प्रदेश सरकार मन्त्रिपरिषद्को आज मुख्यमन्त्री कार्यालयमा बसेको बैठकले मृतकका परिवारलाई कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषबाट रु एक लाख उपलब्ध गराउने निर्णय भएको बैठकपछि सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए।
यस्तै प्रदेशका बाँकेमा र दाङमा शववाहन खरीद गर्न नेपालगञ्ज र तुलसीपुर उपमहानगरपालिका लाई रु १५/१५ लाख अनुदान उपलब्ध गराइने र ती उपमहानगरपालिका मातहत रहने व्यवस्था गरिएको छ। शववाहनलाई बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना विशेष अस्पताल र दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा कोरोना संक्रमितको मृत्यु भएमा शवको व्यवस्थापन गर्ने जिम्मेवारी तोकिएको छ।
यस्तै मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस नियन्त्रण तथा उपचार कोष(स्थापना र सञ्चालन) निर्देशिका पहिलो संशोधन २०७७ लाई स्वीकृत गरेको छ। संशोधित निर्देशिकामा कोरोना नियन्त्रणमा परिचालन हुने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत जनशक्तिको सेवासुविधाको व्यवस्था गर्नेसमेत निर्णय भएको चौधरीले जानकारी दिए।