सोमबार, भदौ ८, २०८३

मालपोतका अधिकृतमाथि १० करोडको भ्रष्टाचार मुद्दा

मालपोत कार्यालय ललितपुरमा कार्यरत शाखा अधिकृत बद्रीराज ढकालले सवा १० करोड बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको खुलेको छ।
 |  मंगलबार, जेठ २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २०, २०७७

काठमाडौं - मालपोत कार्यालय ललितपुरमा कार्यरत शाखा अधिकृत बद्रीराज ढकालले सवा १० करोड बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको खुलेको छ।

खरिदारबाट जागिर प्रवेश गरेका ढकालले करिब २० वर्षको अवधिमा १० करोड २७ लाख ५८ हजार चार सय बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

अख्तियारले गैरकानुनी सम्पत्ति आर्जन गर्ने ढकालविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।

ढकालले मालपोत कार्यालयहरुमा कार्यरत रहँदा जग्गा दर्ता लगायतका कार्यहरुबाट गैरकानुनी रुपमा अकुत सम्पत्ति आर्जन गरी अस्वभाविक रुपमा उच्च जीवनयापन गरिरहेको उजुरीका आधारमा अख्तियारले छानबिन थालेको थियो। अख्तियारका प्रवक्ता प्रदीप कुमार कोइरालाले ढकालको जागिर अवधिमा बैध आम्दानी चार करोड २६ लाख २४ हजार मात्र देखिएको जानकारी दिए।

ढकालले जागिर अवधिमा साली नाताकी एक महिलाका नाममा सवारी साधन खरिद गरी प्रयोग गर्ने गरेको खुलेको अख्तियारले जनाएको छ। यस्तै आफू र आफ्नै परिवारका सदस्यहरुको नाममा विभिन्न बैंक तथा वित्तिय संस्थाहरुमा संचालित बैंक खाताहरुमा खासै कारोबार नगरेको अख्तियारले जनाएको छ।

अवैध आर्थिक कारोवारलाई लुकाउने उद्देश्यले ढकालले अष्ट्रेलियामा रहेका जेठान नाताका नवराज अर्यालका नाममा जनता बैंकमा नयाँ खाता खोली उक्त खाता खोलेकै दिन खाता संचालनको अनुमति लिई त्यहीबाट कारोवार गर्दै आएको खुलेको छ। सोही खाताबाट आफू र नजिकका मान्छेहरुका नाममा चार करोड २६ लाख ९९ हजार दुई सय रुपैयाँ विभिन्न शीर्षकहरुमा खर्च गरेको अख्तियारले जनाएको छ।

ढकालले आफू तनहुँ जिल्ला मालपोतमा कार्यरत रहँदा स्थानीय केही व्यक्तिको नामको जग्गा आफूले सस्तैमा किनेको देखाएर आयस्रोत बढाउन लगत्तै महंगोमा बिक्री गरेको अनुसन्धानका क्रममा खुलेको अख्तियारले जनाएको छ। त्यहाँ उनले हुँदै नभएको खरिद बिक्री कारोवारमा एक लाख ९७ हजारको लगानी गरेको केही दिनमै एक करोड ६८ लाख आर्जन गरेको देखाएको खुलेको छ।

यस्तो छ ढकालको खर्च

ढकालले आफू र पत्नि सिर्जना अर्याल ढकालको नाममा दर्ता कायम रहने गरी घर तथा जग्गा खरिदमा चार करोड ५४ लाख १७ हजार २ सय ४४, घर फिनिसिङमा एक करोड एक लाख ५३ हजार खर्च गरेको खुलेको छ।

यस्तै पूँजिगत लाभ तथा आयकरमा सात लाख ९० हजार एक सय ३०, विभिन्न बैंक तथा वित्तीय संस्थाका साधारण तथा संस्थापक शेयर खरिदमा एक करोड ११ लाख ४६ हजार सात सय, सन्तानको अध्ययनमा १६ लाख खर्च गरेका छन्।

जीवन बीमा प्रिमियम शुल्कमा ९ लाख २४ हजार ६ सय ४०, कर्जा चुक्तामा ६४ लाख ६३ हजार पाँच सय ११, सवारी साधन खरिद तथा संचालनसमेतमा २८ लाख २२ हजार सात सय, सुन खरिदमा १७ हजार तीन सय खर्च गरेका छन्।

यस्तै सरसापटी व्यवहारमा २० लाख, जेठान नाताका नवराज अर्यालको नाममा बैंक खाताबाट स्रोत नखुलेको मौज्दात रकमहरुबाट चार करोड २६ लाख ९९ हजार दुई सय ९४, अन्य विविध खर्च र साथमा रहेको नगद समेत दुई करोड २४ लाख २६ हजार ६ सय ८९ खर्च गरेको खुलेको छ।

निजी विदेश भ्रमणमा ९२ हजार तीन सय, बैंक खाताहरुमा अन्तिम मौज्दात रकम दुई लाख ६८ हजार ९ सय खर्च गरेको अख्तियारले जनाएको छ।

आम्दानी भन्दा बढी खर्च देखिएको रकम जफत गर्दै पत्नी सिर्जना र जेठान नवराजलाईसमेत विपक्षी बनाउँदै अख्तियारले मुद्दा दायर गरेको छ।

ढकाले २०५४ माघ १४ गते अस्थायी शिक्षकमा सार्वजनिक सेवामा प्रवेश गरी मालपोत कार्यालय लमजुङबाट २०५५ असोज १६ गते खरिदारको पदमा स्थायी नियुक्ति लिएको अख्तियारले जनाएको छ।

नायब सुब्बा हुँदै हाल शाखा अधिकृतको पदमा कार्यरत ढकालले जागिर अवधिमा मालपोत कार्यालयहरु तनहुँ, कास्की, डिल्लिबजार काठमाडौं, पर्सा तथा ललितपुरमा काम गरेको छन्।

प्रकाशित: Jun 02, 2020| 17:08 मंगलबार, जेठ २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।