जनकपुरधाम- प्रदेश २ मा कोरोना संक्रमितको संख्या ८१५ पुगेको छ। मंगलबार एकै दिन १२० जना थपिएसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ८१५ पुगेको हो।
मंगलबार थपिएको संख्या अहिलेसम्मको सबैभन्दा बढी हो। सामाजिक विकास मन्त्रालयले जनाएअनुसार मंगलबार रौतहटमा सबैभन्दा बढी ७४ जना थपिएका छन्।
यससँगै प्रदेश २ मा सबैभन्दा बढी कोरोना संक्रमित रौतहटमा देखिएको छ। रौतहटमा ३०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
मंगलबार धनुषामा नेपाली सेनाका एक जवानसहित चारजनामा संक्रमण पुष्टि भएको छ। जिल्लाको जटही नाकामा खटिएका श्रीनाथ गणका एक सैनिक जवानमा संक्रमण पुष्टि भएको हो।
यसैगरी महोत्तरीमा दुई, सिरहामा १७, सर्लाहीमा २१, बारामा १ र सप्तरीमा एकजनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले जनाएअनुसार संक्रमण पुष्टि भएकाहरु सबै भारतबाट आएर क्वारेन्टिनमा बसेका थिए।
भारतले रेललगायतका सवारीसाधन सञ्चालन गरेपछि रोजगारीमा रहेका नेपाली फर्किने क्रम बढेसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या बढेको छ। हालसम्म संक्रमण पुष्टि भएकामध्ये अधिकांश भारतबाट आएका हुन्।
मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार प्रदेश २ को सप्तरीमा ५६, सिरहामा ४७, धनुषामा ८१, महोत्तरीमा ३१, सर्लाहीमा १३१, रौतहटमा ३०८, बारामा ५५ र पर्सामा १०३ जनामा संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमणपछि अहिलेसम्म १०४ जना निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ।
पछिल्लो समय कोरोना संक्रमणको दर बढ्दै गएपछि प्रदेश २ मा आइसोलेसन कक्षको समस्या देखिन थालेको छ। आइसोलेसन कक्षको व्यवस्थापन हुन नसकेपछि कतिपय स्थानमा संक्रमण पुष्टि भएकाहरुलाई प्राथमिक स्वास्थ्य केन्द्रका साथै क्वारेन्टिनमै राखिएको छ।