जनकपुरधाम- धनुषामा कार्यरत नेपाली सेनाका एक जवानमा कोरोना संक्रमण पुष्टि भएको छ। धनुषाको जटही नाकामा खटिएका श्रीनाथ गणका एकजना नेपाली सेनाको जवानमा संक्रमण पुष्टि भएको हो।
संक्रमण पुष्टि भएका सैनिककाे स्वाब धनुषाको गंगुलीस्थित क्वारेन्टिनबाट संकलन गरिएको थियो। धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले धनुषाको चारजनामा संक्रमण पुष्टि भएको जानकारी दिएका छन्।
गंगुली क्वारेन्टिनका एकजना, हँसपुर नगरपालिका क्वारेन्टिनका दुई र धनौजी गाउँपालिका क्वारेन्टिनका एकजनामा संक्रमण पुष्टि भएको उनले बताए ।
सामाजिक विकास मन्त्रालयले प्रदेश २ मा मंगलबार १२० जनामा संक्रमण पुष्टि भएको जनाएको छ। यो संख्या थपिनेमध्ये अहिलेसम्मको सबैभन्दा बढी हो।
मन्त्रालयका अनुसार मंगलबार सबैभन्दा बढी रौतहटमा ७४, सिरहामा १७, महोत्तरीमा २ र बारामा एकजनामा संक्रमण पुष्टि भएको छ। १२० जना थपिएसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ८१५ पुगेको छ। कोरोना संक्रमणको विस्तृत जानकारी दिन सामाजिक विकास मन्त्रालयले अहिले चारबजे मिडिया ब्रिफिङ गरिरहेको छ ।