काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपालबारे भारतीय सेना प्रमुख र पूर्वसचिवको भनाइ खेदजनक भएको बताएका छन्।
मंगलबार राष्ट्रियसभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले भारतीय सेनापति र पूर्वविदेश सचिवले नेपाल वार्तामा बस्न चाहिरहेको अवस्थामा आरोप लगाउनु आपत्तिजनक भएको बताए।
“उहाँहरुलाई आफ्नो बोली सच्याउन आग्रह गर्न चाहान्छु,” श्रेष्ठले चेतावनी शैलीमा भने, “नेपालको भूमि फिर्ताका लागि चीन वा अरु कुनै मुलुकको आवश्यकता पर्दैन, स्वाभिमानी नेपालीहरुका लागि इतिहास साक्षी छ।”
नेपाल कसैको पनि सुरक्षा छाताभित्र नबस्ने भन्दै श्रेष्ठले भारतले अतिक्रमण गरेको भेपालको भूमि फिर्ता गर्नुपर्ने भएकाले आवेग र उत्तेजनामा नआउन आग्रहसमेत गरे।
“हामीले हाम्रो गुमेको भूमि फिर्ता गर्नुछ, त्यसैले कोही पनि आवेग, उत्तेजना र आवेगमा नआऔं,” उनले भने, “कूटनीतिक माध्यमबाट भूमि फिर्ता गर्ने प्रक्रिया अगाडि बढाऔं।”
साथै उनले भारतलाई कूटनीतिक माध्यमबाट यो समस्याको समाधान गर्न आग्रहसमेत गरे। “सीमा समस्याको विषयमा कूटनीतिक माध्यमबाट समाधान गर्न तत्काल संवादमा आउन आग्रह गर्छु,” श्रेष्ठले भने, “यो समस्याको समाधान ऐतिहासिक प्रमाणका आधारमा गर्नुपर्छ।”
श्रेष्ठले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पशुपतिनाथ, मुक्तिनाथको आराधना गरी शक्ति लिन आग्रहसमेत गरे। “तपाईंले पशुपतिनाथ, मुक्तिनाथसँग आराधना गर्नुस्, शक्ति लिनुस्, आशीर्वाद लिनुस्,” उनले भने, “यस्तो तपोभूमिको एक इन्च भूमि पनि हामीले लिन हुँदैन भनेर।”