काठमाडौं- सुनसरीमा तीन जना साथी मिलेर युवकको हत्या गरेको खुलेको छ। इटहरी उपमहानगरपालिकामा २८ वर्षीय रादन राईको तीन जना मिलेर हत्या गरेको खुलेको हो।
राईलाई कुटपिटपछि छुरा प्रहार गरी हत्या गरेको आरोपमा २० वर्षीय प्रज्ज्वल तामाङ, १९ वर्षीय अभिषेक केसी (गिरी) र २३ वर्षीय अमित घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ।
गत आइतबार राति स्थानीय अमित घिमिरेको घरमा विवाद बढ्दै गर्दा तामाङ, केसी र घिमिरेले राईलाई बाँसको लाठीले कुटपिट गर्दै धारिलो चक्कुले कोखा र छातीमा प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ।
घाइते राईको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आइतबार राति नै मृत्यु भएको थियो।
बेलायतबाट तीन महिनाको बिदामा घर आएका राईलाई विवादपछि राति घर फर्कने क्रममा तीनै जनाले आक्रमण गरेको प्रहरीले जनाएको छ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुमनकुमार तिम्सिनाले घटनालगत्तै फरार रहेका तीनै जनालाई हत्या आरोपमा प्रदेश १ प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय, इटहरीको संयुक्त टोलीले सोमबार साँझ पक्राउ गरेको जानकारी दिए।