जनकपुरधाम- कृष्णहरि पुष्कर प्रदेश २ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव हुन्। उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ताको जिम्मेवारीसमेत वहन गरिसकेका छन्।
केही दिनअघि उनलाई पित्तथैलीमा समस्या देखियो। त्यसपछि उपचार गराउन उनले जनकपुरबाट ललितपुरको मेडिसिटी अस्पतालमा फोन गरे। मेडिसिटीले पुष्करलाई शुक्रबारको समय दियो। अस्पतालले दिएको समयअनुसार त्यहाँ पुग्दा पुष्करले उपचार नपाएर डाक्टरको गाली खानुपरेकाे बताएका छन्।
जनकपुरबाट आएको भन्ने सुन्नासाथ मेडिसिटीका डाक्टर सुनिलकुमार शर्मा ढकालले अंग्रेजीमा तथानाम गाली गरेर पुष्करको दाबी छ।
पुष्करले ‘जनकपुरको मानिस भनेर मेडिसिटी अस्पतालका डाक्टरले अपमानित र भेदभाव गर्दा साह्रै पीडा भएको’ बताए। ‘अस्पताल पुगेपछि क्याबिनभित्र प्रवेश दिइएन, बाहिरै उभिन भनियो, उभिरहेँ,’ नेपाल समयसँग उनले भने, ‘एकछिनपछि उहाँ बाहिर निस्कनुभयो र अंग्रेजीमा तथानाम गाली गर्नुभयो, म चुपचाप सुनिरहें।’
‘उपचारका लागि जानुपूर्व अघिल्लो दिन व्यवस्थापन, त्यहाँको सम्पर्क व्यक्तिलगायत सबैलाई सम्पूर्ण कुरा जानकारी गराइसकेको थिएँ,’ पुष्कर भन्छन्, ‘अप्वाइन्टमेन्ट दिइएको थियो, अस्पतालको सबै प्रोटोकोल पूरा गरेको थिएँ। तर, डाक्टर ढकाल बाहिर निस्केर सामान्य सोधपुछसमेत नगरी कोरोना जाँच गराएर आऊ भन्नुभयो।’
‘मैले पीसीआरको निगेटिभ रिपोर्टसमेत उपचारसँग सम्बन्धित अन्य कागजातहरुसँगै राखेको थिए, तर ढकालले त्यो रिपोर्ट मान्य हुँदैन, अर्को जाँच गराउनुपर्छ भनेर तथानाम गाली गर्नुभयो,’ पुष्करले सुनाए।
उपचारका लागि जानुपूर्व आफूले अस्पतालका सञ्चालक उपेन्द्र महतोलाई समेत फोन गरेर जानकारी गराएको पुष्करले जनाएका छन् ।
मेडिसिटीमा भोग्नु परेको पीडा सामाजिक सञ्जाल फेसबुकमा पोख्दै पुष्करले भनेका छन्, ‘ममाथि भएको दुर्व्यहारको साक्षी अस्पतालकै चिकित्सक र कर्मचारीहरु पनि हुनुहुन्छ। उहाँहरुले पनि दुःखद भन्नुभएको छ। यस्ता विषयहरु उपयुक्त समयमा उपयुक्त तरिकाले सम्बोधन हुन्छ विश्वास लिएको छु।’