सरकारले जारी गरेको नयाँ नक्सा अनुसार संविधानको अनुसूचीमा रहेको निशान छाप परिवर्तन गर्नका लागि संसदमा दर्ता गरिएको संविधान संशोधन प्रस्तावलाई नेपाली कांग्रेसले पनि समर्थन गरेको छ।
यसैबीच राजपा र समाजवादी पार्टीले संविधान संशोधनको पुरानो माग ब्यूँत्याएका छन्। उनीहरूले नागरिकता, भाषा, जनसंख्याका आधारमा राष्ट्रिय सभामा प्रतिनिधित्व र प्रदेशको सीमा परिवर्तन गर्न आयोग गठन लगायतका माग समेटेर संशोधन प्रस्ताव दर्ता गराएका हुन्।
यही सेरोफेरोमा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग नेपाल समयका लागि बीपी साहले गरेको छोटो कुराकानीः
नयाँ नक्सा जारी गरेपछि सरकारले दर्ता गराएको संविधान संशोधनको प्रस्ताव बारे तपाईको धारणा के छ?
सरकारले दर्ता गराएको संविधान संशोधन विधेयकको विषयमा हाम्रो पार्टी (जनता समाजवादी) को संयुक्त धारणा आउनेछ। अहिले एक्लाएक्लै व्यक्त गरिएको धारणा वा टिप्पणीको अर्थ हुँदैन। केही दिन प्रतिक्षा गर्नुस्।
हामीले सरकारलाई संविधान संशोधन गर्दा हाम्रा माग पनि समेटन् आग्रह गर्दै आएका छौं। तर, सरकारले त्यसतर्फ ध्यान दिएको छैन। सरकार हाम्रा मागप्रति सकारत्मक छैन।
भनेपछि विपक्षमा मतदान गर्ने सम्भावना छ?
अहिले नै भन्न सक्दिनँ। हामीले वर्षौंदेखि संविधान संशोधनको माग गर्दै आएका छौं। तर, हाम्रो माग सम्बोधन हुँदैन भने हाम्रा लागि संविधान संशोधनको अर्थ हुँदैन।
कांग्रेसले त संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरिसक्यो नि!
कसैको सरकार जोगाउन कोही सती जाँदैछ भने त्यो उसको कुरा हो। संविधान संशोधन गर्दा हाम्रा मुद्दा पनि समेटिनै पर्छ भन्ने हाम्रो माग हो।
तपाईहरुले दर्ता गराउनु भएको संशोधन विधेयकमा मुख्य कुरा चाहिँ के के छन्?
नागरिकता समस्याको समाधान। जनसंख्याको आधारमा निर्वाचन प्रणाली, भाषिक अधिकार। प्रदेशको सीमाकंनलगायतका हामीले पहिलेदेखि नै उठाउँदै आएका विषय छन् विधेयकमा ।
वर्तमान सरकारले अतिक्रमित भूमि फिर्ता गराउन सक्ला त?
प्रधानमन्त्री ओलीमा भूमि फिर्ता ल्याउने दम छैन। गफ दिने कुरा बेग्लै हो, साँच्चिकै फिर्ता ल्याउनसक्ने कुरा बेग्लै। उहाँ एक्लैले चाहँदैमा फिर्ता हुँदैन।
त्यसो भए कसरी फिर्ता हुन्छ?
राष्ट्रिय एकता बलियो बनाउन आवश्यक छ। देशको आन्तरिक एकता बलियो बनाउनु पर्छ। त्यसपछि सिंगो देश एक भएर अगाडि बढ्न सहज हुनेछ। बलियो कुटनीतिक पहल पनि उत्तिकै जरुरी छ।
राजपा र समाजवादी एकताको घोषणा गरिए पनि त्यसको कार्यान्वयन चाहिँ भएन, होइन?
एकीकरणको प्रक्रिया रोकिएको होइन। हामी अहिले छलफल मै छौं। सैद्धान्तिक एकीकरण भइसकेपछि अरु कुरा मिलाउन समय लागेको हो। अबको केही दिनभित्रै पार्टी एकीकृत भएर अगाडि बढ्नेछ।