सेवाग्राहीबाट १७ लाख रुपैयाँ घुस लिएको अवस्थामा पक्राउ परेका नापी कार्यालय, भैरहवा रुपन्देहीका नापी अधिकृत सरोज श्रेष्ठसहित पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।
जग्गाको कित्ताकाट र नामसारी गर्ने काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट लिएको घुससहित पक्राउ परेका श्रेष्ठसहित सर्भेक्षकद्वय तिर्थराज भण्डारी र थानेश्वर चौधरी, मालपोतका नायव सुब्बा धर्मराज पन्थी र लेखनदास जीवन शर्माविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर भएको हो।
सेवाग्राहीबाट पटक पटक घुस माग गरेको सूचनाका आधारमा अख्तियारको बुटवलबाट खटिएको टोलीले घुससहित पक्राउ गरेको थियो।
अनुसन्धानको सिलसिलामा साविक लेखनाथ–२ कास्कीका जग्गाधनी गंगादेवी पौडेलको नाममा रहेको रुपन्देही साविक टिकुलीगढ–९ क स्थित कित्ता नं. २५२,९२९,९३६,९४६,९२६ र जग्गाधनी स्वतन्त्र पौडेलको नाउँमा दर्ता कायम रहेको रुपन्देही ९४४, ९२५, ९४०, ९३७, ९३३ कित्ता नम्बरको जग्गा राजीनामागर्दा पर्शुराम भण्डारीसँग घुस लिएको खुलेको छ।
नापी अधिकृत श्रेष्ठ, सर्भेक्षकहरु चौधरी र भण्डारीलाई १२ लाख बिगो माग दाबी गरिएको अख्तियारले जनाएको छ।
घुस लिन मतियारको रुपमा काम गर्ने लेखनदास शर्मालाई १७ लाख नै बिगो माग दाबी गरिएको छ।
मालपोतका नासु पन्थीले मतियार शर्मासँग पाँच लाख रुपैयाँ माग गरेको अनुसन्धानबाट खुलेको भन्दै अख्तियारले पाँच लाख नै बिगो माग दाबी गरेको छ।