सांसद गंगा चौधरीले संसदभित्र पनि भारतीय चेलीहरुको दादागिरी चल्न थालेको आरोप लगाएकी छन्।
प्रतिनिधिसभाको सोमबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसद चौधरीले सरिता गिरीलाई इंगित गर्दै भारतले सीमा नमिचेको कुनै ठाउँ बाँकी नरहेको अवस्थामा संसदमा नै भारतीय चेलीको दादागिरी चलेको आरोप लगाएकी हुन्।
‘अनुदानसँग जमिन र स्वाभिमान कदापि साट्न मिल्दैन। भारतले सीमा नमिचिएको ठाउँ छैन, नहेपिएको गाउँ छैन। हुँदाहुँदा भारतीय चेलीहरुको सदनभित्र पनि दादागिरी चल्न थाल्यो, भूमि मिचाहासँग सल्लाह छलफल गर्नुपर्यो रे,’ चौधरीले भनिन्।
सांसद गिरीले सरकारले भारतसँग छलफल नै नगरी एकलौटी रुपमा नक्सा सार्वजनिक गरेको भन्दै आपत्ति जनाएकी थिइन्।
सांसद चौधरीले आफ्नो जमिन आफ्नो भन्न भूमि मिचाहासँग किन सोध्नुपर्यो ? भन्दै जवाफ फर्काएकी छिन्। ‘आफ्नो जमिन मेरो हो भन्न पनि भूमि मिचाहासँग सोध्नुपर्ने यो कस्तो विडम्बना ?’ चौधरीले भनिन्, ‘जब प्रधानमन्त्री एउटा सपना योजना फ्याँक्छन् रअ का एजेन्टहरु १५ दिनसम्म घाइते हुन्छन्।’
मन अशुद्ध हुनेहरुको मन्तव्य, लेख र अन्तर्वार्ता आम जनताले पनि स्पष्ट रुपमा पहिचान गर्न थालिसकेको भन्दै चौधरीले विगतमा नक्कली राष्ट्रवादको खोल ओढ्नेहरुको मुकुण्डो पनि तिनलाई उचाल्नेहरुबाट नै पर्दाफास हुने बताइन्।