काठमाडाैं- कांग्रेस सांसद गगन थापाले पश्चिम रुकुमको सोतीमा भएको नरसंहारले समानताको कानुन बनायौं भनेर गर्व गरिरहेका नेताहरुको अनुहारमा कालो पोतिएको बताएका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा सम्बोधन गर्दै थापाले भने, 'संविधानमा समानताको हक, स्वतन्त्रताको हक, आत्मसम्मानपूर्वक बाँच्न पाउने हक, मर्यादित जीवन बिताउन पाउने हक, छुवाछूत तथा भेदभावविरुद्धको हकदेखि दलितको हकसम्म सबै लेख्यौं, कानुन बनायौं भनेर गर्व गरिरहँदा रुकुम सोतीको नरसंहारले यस्तो गर्व गरिरहेको हामी सबैको अनुहारमा कालो पोतिएको छ।'
उनले यस्तो अमानवीय र क्रूर घटनालाई भवितव्य हो भनेर देखाउन र सहायक कारण देखाएर यो घटनाको जरामा रहेको उच्च जातीय अहंकारको ढाकछोप गर्न संगठित प्रयत्न भइरहेको भन्दै आपत्ति जनाए।
थापाले भने, 'राज्यको यस्तो लाचारीलाई यो संसदले टुलुटुलु हेरेर बस्ने हो भने लाज पनि हामीसँग लजाउँछ।'
उनको अनुहारको दाग ऐना पुछेर नजाने पनि प्रस्ट पारे। थापाले रुकुम नरसंहार लगायत यो लकडाउनको अवधिमा मात्रै जातीय विभेदका कारण हत्या, आत्महत्या र बलात्कारका ३२ वटा घटना भएको बताए।
उनले पश्चिम रुकुमको घटनाका सम्बन्धमा छानबिन गर्न अविलम्ब सर्वदलीय संसदीय समिति गठन गर्न माग गरेका छन्।
केही दिनअघि पश्चिम रुकुमको चौरजहारीस्थित सोतीमा प्रेमिकालाई बेहुलीका रुपमा घर भित्र्याउन प्रेमिकाको गाउँ पुगेका ५ जनाको गाउँलेको आक्रमणबाट ज्यान गएको छ भने एक जना अझै बेपत्ता छन्।