कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढिरहेकै बेला भारतले विगत ६६ दिनदेखि जारी बन्दाबन्दी (लकडाउन) आजदेखि खुकुलो पारेको छ।
गएको मार्च २४ मा सुरु भएको लकडाउनको यो पाँचौं चरण हो।
जुन १ तारिखदेखि एक महिनासम्मका लागि दिशानिर्देश जारी गर्दै भारत सरकारले यसलाई अनलक–१ भनेको छ।
अर्थात् कोरोना महामारीका बीच पनि भारतले लकडाउन खोल्दैछ। पहिलो चरणमा ८ जुनपछि धार्मिकस्थल, होटेल, रेष्टूरेन्ट, सपिङ मल खोल्ने स्वीकृति दिइएको छ।
दोस्रो चरणमा जुलाईमा स्कूल, कलेज, प्रशिक्षण संस्था प्रदेश सरकार र अभिभाकहरुसँग छलफलपछि खोल्ने भनिएको छ।
तेस्रो चरण अगस्तमा लागू हुनेछ। यसमा परिस्थितिको विश्लेषण गरेर अन्तर्राष्ट्रिय विमान यात्रा, मेट्रो सेवा, सिनेमा हल, जिम, स्वीमिङ पूल र मनोरञ्जन पार्क आदि खोल्ने मिति घोषणा गरिनेछ।
जिल्ला प्रशासन केन्द्रले सरकारको दिशानिर्देश अनुसार कंटेन्मेन्ट जोन अर्थात अति प्रभावित क्षेत्र निर्धारण गरेर त्यस्ता क्षेत्रलाई भने पूर्ण बन्द गर्नेछन्। कंटेनमेन्ट जोनमा अति आवश्यक बाहेकका सबै गतिविधि ठप्प हुनेछन्।
त्यसैगरी प्रदेशभित्र र दुई प्रदेशबीचको आवागमनमा कुनै रोक लाग्ने छैन।
यद्यपि, कुनै प्रदेश वा जिल्ला प्रशासनले आवागमनमा रोक लगाउन चाह्यो भने पूर्व सूचना दिएर आवश्यकता अनुसार त्यसो गर्न सक्ने छ।
३० जुनसम्म विवाहमा ५० जनाभन्दा बढी सहभागी हुन पाइने छैन। यो अवधिमा संभव भएसम्म कार्यालय नखोल्न र कर्मचारीलाई घरबाटै काम गर्न भनिएको छ।
सार्वजनिक स्थलमा, यात्रामा र कार्यस्थलमा मास्क लगाउन अनिवार्य गरिएको छ। त्यस्तै प्रत्येक व्यक्तिले अर्को व्यक्तिसँग दुई मिटरको दूरी बनाउनु पर्ने छ।
अनलक– १ अन्तर्गत सबै गतिविधि चरणबद्ध तरिकाले खोल्नका लागि नयाँ गाइडलाइन जारी गरिएको छ। यद्यपि राति ९ बजेदेखि विहान पाँच बजेसम्मकालागि सबै क्षेत्रका सबै गतिविधिमा रोक लगाइएको छ।
दिल्लीजस्ता केही सहरुहरुमा भने यसअघि नै सार्वजनिक यातायात सुचारु भइसकेका छन्, पसल र कार्यालयहरु खुलिसकेका छन्।
बन्दाबन्दीले भारतका ठूला उद्योग र व्यापारिक प्रतिष्ठानमा ठूलो संकट पैदा गरेको छ। यद्यपि यसको सबैभन्दा ठूलो मार साना किराना पसलहरुमा परेको छ।
भारतीय पत्रिका हिन्दूस्तान टाइम्सले उल्लेख गरे अनुसार करिब ७ लाख साना किराना पसल सधैँका लागि बन्द हुने अवस्थामा पुगेका छन्।
सहर बजारका गल्ली र घरहरुमा खुलेका यि पसल बन्द हुँदा करोडौं व्यक्ति बेरोजगार हुनेछन्।
बन्दाबन्दी पूरै खुल्ने हो भने पनि नगदको कमी र संक्रमणको भयले ग्राहक नआउँदा घटने ब्यापार यि पसलका मूख्य चुनौती हुन्। रिपोर्टका अनुसार थोक व्यापारी वा कम्पनीबाट यस्ता पसलले सातदेखि २१ दिनसम्मका लागि उधारोमा सामान पाउँछन्। तर अर्थव्यवस्थामा आएको अनिश्चितताका कारण अब यस्तो उधारो पाउने संभावना पनि निकै कम छ।
त्यसैगरी निम्न र निम्नमध्यम वर्गीय आप्रवासी ग्राहकहरु आ–आफ्ना घर फर्किसकेकाले पनि यस्ता पसलले फेरि ग्राहक पाउन कठिन छ।
खुद्रा व्यवसायीको संगठन क्याटका अनुसार यि पसलमा दूध, पाउरोटी, बिस्किट, साबुन, स्याम्पू, पेय पदार्थ साथै अन्य दैनिक उपभोग्य बस्तु बिक्री हुन्छन्। यस्ता उत्पादन बिक्री नहुँदा उत्पादक ठूला कम्पनीलाई पनि यसको मार पर्नेछ।
रिसर्च एजेन्सी निल्सनका अनुसार भारतमा किराना सामानको बिक्रीमा मूल्यका हिसाबले साना किराना पसलको हिस्सा २० प्रतिशत छ।
अर्थतन्त्रमा आइलागेको अप्रत्याशित संकटबाट पार पाउन लकडाउन खोल्ने निर्णयले मानवीय स्वास्थ्यमा भने झन् ठूलो जोखिम निम्त्याएको भन्दै विशेषज्ञहरुले सरकारको आलोचना गरेका छन्।
आज (सोमबार) बिहानसम्मको तथ्यांकअनुसार भारतमा कोरोना संक्रमितको संख्या १ लाख ९० हजार पुगेको छ। यीमध्ये ५ हजार ४ सय जनाको मृत्यु भएको छ भने करिब ९२ हजार जना रिकभर भएका छन्।
भारत र नेपालमा एकै दिन लकडाउन लागू भएको थियो। नेपालमा गएको चैत ११ गतेदेखि जारी लकडाउनको समय आठौं पटक थपेर जेठ ३२ गतेसम्म लम्ब्याइएको छ।
नेपालमा लकडाउन
पहिलो : चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्म
दोस्रो : चैत २५ सम्म
तेस्रो : वैशाख ३ मध्यरातसम्म
चौथो : वैशाख १५ मध्यरातसम्म
पाँचौँ : वैशाख २५ मध्यरातसम्म
छैटौँ : जेठ ५ मध्यरातसम्म
सातौँ : जेठ २० मध्यरातसम्म
आठौँ : जेठ ३२ मध्यरातसम्म
योसँगै नेपालमा लकडाउनको समय ८० दिन पुगेको छ। कोरोना संक्रमण बढ्दो क्रममा रहेकाले सरकारले लकडाउन कार्यान्वयनमा थप कडाइ गर्ने रणनीति लिएको छ।
हालसम्म यहाँ १५६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यीमध्ये ८ जनाको मृत्यु भएको छ भने २२० जना रिकभर भएका छन्।