नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल धनुषाले जनकपुरमा सरकारविरुद्ध गरेको विरोध प्रदर्शनमा प्रहरीले लाठी चार्ज गरेको छ ।
कोरोना रोकथाम तथा नियन्त्रण गर्न सरकार असफल भएको भन्दै तरुण दलले आयोजना गरेको राँके जुलुसमा प्रहरीले लाठी चार्ज गरेको हो ।
प्रहरीको लाठी चार्जबाट तरुण दल धनुषाका उपसभापति राकेश विक्रम, तरुण दलका नेता रमेश यादव, विजय यादवलगायतका व्यक्तिहरुलाई चोट लागेको छ ।
राम चोकबाट विरोध जुलुस प्रदर्शन गरेर भानु चोकमा कोणसभा गरिरहँदा प्रहरीले एक्कासी लाठी चार्ज गरेको उपसभापति साहले बताएका छन् । ‘हामी प्रदर्शनपछि भानु चोक पुगेर कोणसभा गरिरहेका थियौं प्रहरीले एक्कासी लाठी चार्ज गर्यो,’ साहले बताए ।
संघ, प्रदेश र स्थानीय सरकार कोरोना रोकथाम र नियन्त्रण गर्न गम्भीर नरहेको र कोरोनाकै नाममा भ्रष्टाचारमा लिप्त रहेकोले आफूहरु प्रदर्शन गरेको उनले बताए ।
कोरोना महामारी रोकथाम र नियन्त्रणको नाउँमा प्रदेश सरकार भ्रष्टाचारमा डुबेको, ‘लकडाउन’ भएको दुई महिनाभन्दा बढी पुगिसक्दासमेत क्वारेन्टिन र आइसोलेसन बनाउन असफल भएको आरोप तरुण दलले लगाएको छ ।
क्वारेन्टिन, आइसोलेसन निर्माणको बहानामा प्रदेश र स्थानीय सरकारले गरिरहेको भ्रष्टाचार तत्काल बन्द गर्न तरुण दलले माग गरेको छ । साथै सीमामा अलपत्र परेका नेपालीहरुको उद्धार र विदेशमा फसेका नेपालीहरुलाई स्वदेश फिर्ता ल्याउन उसले सरकारसँग माग गरेको छ ।
विरोध प्रदर्शनमा तरुण दलका साथै नेपाल विद्यार्थी संघका नेता तथा कार्यकर्ताहरुको समेत सहभागिता रहेको थियो ।