सरकारले भनेको जस्तो आगामी आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धि हासिल भए आफूले राजनीति नै त्याग्ने घोषणा नेपाली कांग्रेसका एक नेताले गरेका छन्।
नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जीतेन्द्रनारायण देवले राष्ट्रियसभा बैठकमा उक्त घोषणा गरेका हुन्।
आइतबार बजेटमाथिको छलफलका क्रममा नेता देवले भने, ‘अहिले सबैभन्दा ठूलो च्यालेन्ज भनेको देशमा आर्थिक क्रियाकलापलाई अगाडि बढाउनुपर्ने हो । आर्थिक पुनरुत्थानको कामलाई अगाडि बढाउनुपर्ने हो। मेरो चुनौती छ नेपाल सरकार र अर्थमन्त्रीलाई, यदि ७ प्रतिशत जीडीपीको ग्रोथ रेट २०७७०७८ मा हासिल भयो भने म राजनीति छोडिदिन्छु।’
सरकारले ल्याएको बजेट गोलमटोल रहेको भन्दै नेता देवले थपे, ‘यो समाजको सुकिला मुकिलाहरुको मात्रै बजेट हो । सुट र टाई लगाउने वर्गको मात्रै बजेट हो की । मुस्ताङी स्याउजस्तो रातो रातो गाला भएको हरुको मात्रै बजेट हो।’
अहिलेको बजेटले गरिब, विपन्न र सीमान्तकृत समुदायलाई सम्बोधन गर्न नसकेको उनले बताए।
कोरोनाका कारण सरकारले लगाएको लकडाउनको मोडल उपयुक्त नभएको दाबी गर्दै उनले भने, ‘लकडाउनका कारण आज सप्तरी जिल्लामा मलर सदाले खान नपाएर भोकभोकै प्राण त्याग गरे। खान नपाएर भोक भोकै कीर्तिपुरको रोडमा सूर्यवहादुर तामाङ दाम्लो र डोको छातीमा राखेर प्राण त्याग गर। आज हजारौं लाखौं मलर सदा र सूर्यवहादुर तामाङ यो मुलुकमा छन्। उनीहरुजस्ताका लागि राहत, त्यसको लागि सहयोग, त्यसको लागि बजेट खोई ? कहाँ बजेट विनियोजन भएको छ त्यसको लागि ? के त्यसको लागि बजेट विनियोजन हुनु हुँदैनथ्यो ?