अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कंचानपुरको शहीद स्मृति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कर्ण बहादुर विष्टसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अध्यक्ष विष्ट र नवराज जोशीले वनको ट्रयाक्टर विक्रि गरेर १२ लाख ९० हजार आर्थिक अनियमितता गरेको भन्दै अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अध्यक्ष विष्टले वन उपभोक्ता समूहको रकमबाट खरिद भएको से १ त ४१६६ नम्बरको ट्रयाक्टर बोहरीगाउँ–१ दार्चुलाका नवराज जोशीका नाममा दर्ता गरेको खुलेको अख्तियारले जनाएको छ।
जोशीले विष्टको निर्देशनमा एम.पी. अटोमोवाइल्स, चटकपुर, धनगढी कैलालीबाट लिलाम हुन लागेको ट्रयाक्टरलाई ३ महिना भित्रमा सावाँव्याज सहित रकम फिर्ता गर्नेगरी सम्झौता गरेर नामसारी गरेको भने पनि कुनै सम्झौता नभएको अख्तियारले जनाएको छ।
अख्तियारले ट्रेक्टर जफत गरी वन उपभोक्ता समूहका नामाम कायम गर्न तथा दुबै जनालाई जनही १२ लाख ९० हजार बिगो माग दाबी लिएको छ।