जनकपुरधाम- नेपाल मेडिकल कलेजका चिकित्सकमाथि भएको कुटपिटको विरोधमा जनकपुरका चिकित्सक विरोधमा उत्रिएका छन्।
जनकपुरस्थित प्रादेशिक अस्पताल परिसरमा एक घन्टा धर्नामा बसेका उनीहरुले चिकित्सकलाई कुटपिट गर्नेलाई तत्काल नियन्त्रणमा लिई कारबाही गर्न माग गरेका हुन्।
प्रदर्शनमा उत्रिएका चिकित्सकले ‘आत्मसम्मानको रक्षा गर’, ‘चिकित्सकमाथिको दुर्व्यवहार बन्द गर’जस्ता प्लाकार्ड बोकेर विरोध जनाएका छन्।
चिकित्सकमाथि भएको कुटपिटको विरोधमा आफूहरु धर्ना बसेर विरोध प्रदर्शन गरेको डा.संजय यादवले बताए। उनले चिकित्सक कुटपिट गर्नेलाई कारबाही नगरिए आफूहरु सशक्त आन्दोलन गर्न बाध्य हुने बताएका छन्।
राजधानीको जोरपाटीस्थित मेडिकल कलेजमा उपचारको क्रममा बिरामीको मृत्यु भएपछि आफन्तले उपचारमा संलग्न चिकित्सकमाथि जेठ १४ गते हातपात गरेका थिए।