राष्ट्रिय जनता पार्टी (राजपा) ले दर्ता गराउन खोजेको संविधान संशोधन विधेयक आज पनि दर्ता हुन सकेन। आजको प्रतिनिधिसभाको बैठक अगाडि नै राजपाले विधेयक दर्ता गराउने तयारी गरेको थियो।
तर, संसद सचिवालयले आज प्रतिनिधिसभाको बैठकमा सहभागी हुनुपर्ने भन्दै बिहान विधेयक दर्ता गर्न अस्वीकार गरेको हो।
प्रतिनिधिसभाको बैठकपछि विधेयक दर्ता हुने सम्भावना रहेको बताइएको छ। राजपा संसदीय दलका प्रमुख सचेतक लक्ष्मणलाल कर्णले प्रतिनिधिसभाको बैठकपछि विधेयक दर्ताका लागि पुनः जाने जानकारी दिएका छन्।
नेपालको नयाँ नक्साका लागि संविधान संशोधन गर्ने तयारी भएपछि राजपाले पनि आफूहरुले उठाएको संविधान संशोधनको मागलाई प्राइभेट बिलका रुपमा दर्ता गराउन खोजेको छ।
राजपाले भाषा, नागरिकता, जनसंख्याको आधारमा राष्ट्रियसभामा प्रतिनिधित्व र प्रदेशको सीमाकंन हेरफेरका विषयमा संविधान संशोधन विधेयक दर्ता गराउन चाहेको छ।