नेपाल–भारत सीमा झुलाघाटबाट तीन दिनमा एक हजार ४८ जना स्वदेश भित्रिएका छन् ।
लगातार शनिबार तेस्रो दिन पनि नेपाली मजदुरको उद्धार गरिएको हो । बिहीबारदेखि शुरु गरिएको उद्धारमा शनिबार १८९ नेपाली स्वदेश भित्रिएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए।
यसअघि शुक्रबार २८३ मजदुरलाई स्वदेश भित्र्याइएको थियो भने नौ भारतीय नागरिकलाई भारत पठाइएको थियो । बिहीबार पनि उक्त नाकाबाट ५७६ मजदुरलाई स्वदेश भित्र्याइएको थियो । स्वदेश भित्र्याइएका नागरिकहरू सुदूरपश्चिम र कर्णाली प्रदेशका छन् । स्वदेश फर्केका नागरिकलाई सम्बन्धित जिल्लामा पठाइएको र बैतडीको हकमा सम्बन्धित स्थानीय तहमा पठाइएको छ ।
उनीहरुलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा राखिने र त्यसपछि मात्रै कोरोना परीक्षण गरिने सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए। झुलाघाट नाकाबाट स्वदेश भित्र्याउँदा सामान्य ज्वरो जाँच मात्रै गरी भित्र्याइएको छ । भारतका विभिन्न शहरबाट नेपाल प्रवेश गरेका उनीहरुलाई परीक्षणबिनै भित्र्याउँदा सङ्क्रमणको जोखिम बढेको छ ।
बैतडीमा भारतबाट फर्केका नागरिकको कोरोना परीक्षणका लागि आरडिटी किट अभाव भएको छ । क्वारेन्टिनमा चार हजार ६०० भन्दा बढी नागरिक बसे पनि जिल्लामा ८०० मात्रै आरडिटी किट मौज्दात रहेको स्वास्थ्य कार्यालयका कोभिड–१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले बताए । सबै पालिकामा पठाएको समेत गनेर अहिले ८०० किट मात्रै मौज्दात रहेको उनले बताए।
क्वारेन्टिनमा अहिले बसिरहेका नागरिक भारतका बढी कोरोना प्रभावित क्षेत्रबाट फर्केका भए पनि कोरोना परीक्षण नहुँदा जोखिम बढ्दै गएको स्वास्थ्यकर्मीले बताएका छन् । क्वारेन्टिनमा बसेकाहरुको आरडिटी मात्रै नभएर पिसीआर परीक्षण गर्नु उपयुक्त हुने मेलौली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले बताए। जिल्लामा भारतबाट फर्कने नागरिकको सङ्ख्या बढ्दै गएपछि कोरोना परीक्षणका लागि आरडिटी किट अभाव भएको स्वास्थ्य कार्यालयका प्रमुुख योगेशप्रसाद भट्टले बताए। जिल्लामा आरडिटी किट अभाव भएपछि प्रदेश सरकारसँग किट उपलब्ध गराउन माग गरेको उनले बताए।