काठमाडौं- पाँच महिनाअघि कुटाइ खाएको रिसमा सुनसरीमा एक युवकले साथीसँग मिलेर भिनाजुको हत्या गरेका छन्।
पुरानो कुटपिटको रिसीइबीका कारण बराह क्षेत्र नगरपालिका–३ इक्राहीका २२ वर्षीय गणेश लिम्बु र १९ वर्षीय प्रदीप राजधामी मिलेर भिनाजु नाता पर्ने ३७ वर्षीय कमल राईको हत्या गरेको खुलेको हो।
शुक्रबार बराह क्षेत्र नगरपालिका–३ इक्राही जमुनाकित्ता स्थित प्लटिङ जग्गाको बाटोमा ३७ वर्षीय कमलको शव भेटिएको थियो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले कमलको हत्या गणेश र प्रदीप मिलेर गरेको अनुसन्धानबाट खुलेको बताए।
थापाका अनुसार कमल पहिले झापाको दमकमा बस्दै आएकामा फागुनदेखि बराह क्षेत्र नगरपालिका–३ ससुराली घरमा बस्दै आएका थिए।
‘गत फागुनमा सामान्य विवादमा कमलले गणेशलाई कुटपिट गरेका थिए, कुटपिटपछि उनीहरुको झगडा मिलेको थियो’ थापाले भने, ‘बिहीबार राति कमललाई एक्लै भेटाएपछि गणेशले मदिरा सेवन गराई एकान्तमा लगेर साथीको सहयोगमा हत्या गरेको अनुसन्धाबाट खुलेको छ।’
गणेश र प्रदीपले पूर्व योजना अनुसार कमलको हत्या गरेको प्रहरीले जनाएको छ। मदिरा सेवन गराएका लिम्बुले साथमा लठ्ठी लिएर गएको र त्यही लट्ठीले कमलको टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।