सुर्खेत- दैलेखको क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु भएको छ। दुल्लु नगरपालिका–११ का युवकको आज (शनिबार) बिहान मृत्यु भएको नगरप्रमुख घनश्याम भण्डारीले जानकारी दिए।
उनी बिहान चिया खाएर साथीहरुसँग कुराकानी गर्दै गर्दा एक्कासि बेहोस भएर ढलेका थिए। “ती युवकलाई कोरोना भाइरस (कोभिड-१९)को लक्षण देखिएको थिएन। चिया बिस्कुट खाएकाे केहीबेरमै मृत्यु भयो,” भण्डारीले भने, “उनको कोरोनाका कारण मृत्यु भएको हो भन्ने लाग्दैन, रक्तचापको समस्या थियो कि थाहा भएन।”
उनी ७९ जना साथीहरुसहित १० दिनअघि भारतको गुजरातबाट गाउँ फर्किएका थिए।
उनीलगायत क्वारेन्टिनमा बसेकाको कोरोना भाइरस परीक्षणका लागि स्वाब संकलन गरेर तीन दिनअघि नै सुर्खेत पठाइएको र रिपोर्ट नआएको दैलेख अस्पतालकी डाक्टर पूजा बीसीले जानकारी दिइन्।
सुर्खेतमा कोरोना परीक्षण गर्ने किट अभाव भएपछि संकलित स्वाबलाई जुम्लास्थित कोरोना परीक्षण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल)को प्रयोगशालामा पठाइएको छ।
कोरोना परीक्षणको रिपोर्ट नआउँदासम्म ती युवकको शव दुल्लु नगरपालिका–७ मा रहेको नेपाल विद्युत प्राधिकरणको भवनकै क्वारेन्टाइनमा राखिने नगरप्रमुख भण्डारीले बताए।
अस्पतालले उनको मृत्यु हृदयाघातबाट भएको हुन सक्ने अनुमान गरेको छ।