संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनओएचसीआर)ले रुकुम पश्चिममा हालै भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै त्यसको भर्त्सना गरेको छ।
यूएनओएचसीआरका प्रमुख मिसेल बासेलेले विज्ञप्ति जारी गर्दै तथाकथित माथिल्लो जातका व्यक्तिहरुले पाँच व्यक्तिको हत्या गरेको भन्दै त्यसले आफूलाई स्तब्ध बनाएको उल्लेख गरेकी छन्।
उच्चायुक्तको कार्यालयले उक्त घटनाका दोषीलाई छुट वा माफी नदिनसमेत आग्रह गरेको छ। ‘२१ औं शताब्दीमा पनि हाम्रो विश्वमा जातमा आधारित पूर्वाग्रह व्याप्त रहनु दुखद् कुरा हो। जातमा आधारित भेदभाव नेपालमा मात्रै होइन, अन्य देशमा पनि व्याप्त छ र प्रायः त्यसले गम्भीर क्षति निम्त्याउने गर्छ। जातमा आधारित भेदभावको अन्त्य कसैलाई पनि पछाडि नछाडौं भन्ने दिगो विकासको परिकल्पना साकार पार्न अत्यावश्यक छ,’ विज्ञप्तिमा भनिएको छ।
उच्चायुक्त बासेलेले यो घटना कुनै कोणबाट क्षम्य नहुने बताएकी छन्। कोभिड–१९ महामारीको पीडाबीच यो अर्को पीडाले राष्ट्रसंघ दुःखी रहेको विज्ञप्तिमा उल्लेख छ। रुकुम घटनाको राजनीतिकरण नगरी निष्पक्ष छानबिन र कारबाही गर्न माग गर्दै राष्ट्रसंघले छुवाछुतको अन्त्यका लागि सबैलाई आह्वानसमेत गरेको छ।
दलितमाथिको उत्पीडन र भेदभाव तत्काल अन्त्य गर्न सरकारले शून्य सहनशीलता अपनाएर कानुन कार्यान्वयन गर्नसमेत राष्ट्रसंघले जोड दिएको छ।
यसैगरी युएनओएचसीआरले यसअघि रुपन्देहीको देवदह गाउँमा एउटा छुट्टै हमलामा मारिएकी १२ वर्षीया दलित बालिकाबारे पनि चासो देखाएको छ। उनको पनि एक कथित माथिल्लो जातका व्यक्तिबाट बलात्कारपछि हत्या भएको थियो।
ओएचसीआर बालिकामाथि जेठ ९ र १० गते भएको बलात्कारको घटना र उनको शंकास्पद मृत्युप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै दोषी सबैलाई कानुनी कारबाही गर्नसमेत भनेको छ।
ओएचसीआरले बालबालिकाको बाँच्न पाउने हक सुनिश्चित गर्नसमेत सरकारलाई आग्रह गरेको छ।
गत शनिबार विवाह गर्न भनेर जाजरकोटबाट रुकुम पश्चिम गएका युवाहरुलाई स्थानीयले आक्रमण गर्दा ५ जनाको ज्यान गएको थियो।