एजेन्सी- चर्चित भारतीय ज्योतिषी बेजन दारुवालाको ९० वर्षको उमेरमा निधन भएको छ।
गुजरातको गान्धीनगरस्थित एक निजी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।
केही दिनदेखि उनलाई न्यूमोनिया र ब्रेन हाइपोक्सिया भएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ। अहमदावाद नगरपालिकाले उनको नाम कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको सूचीमा उल्लेख गरे पनि उनका छोराले उक्त कुरा गलत भएको बताएका छन्।
११ जुलाई १९३१ मा मुम्बईमा जन्मिएका दारुवालाले गरेका कैयन भविष्यवाणी सही सावित भएका थिए। उनले भारतीय पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीका छोरा सञ्जय गान्धीको मृत्युबारे गरेको भविष्यवाणी मिलेको थियो। त्यस्तै सन् २००४ मा कांग्रेस सत्तामा पुग्नु अगावै उनले मनमोहन सिंह भारतको प्रधानमन्त्री हुने बताएका थिए।
उनले सन् २०१९ मा लोकसभा निर्वाचनमा भाजपाले भारी बहुमतले जित्ने भविष्यवाणी पनि गरेका थिए । कारगिल युद्ध र गुजरात भूकम्प जस्ता उनले गरेका कैयन भविष्यवाणी पछि सही सावित भएका थिए।
‘उहाँ योद्धा हुनुहुन्थ्यो र अन्तिम साससम्म बहादुरीपूर्वक लड्नुभयो,’ उनका छोरालाई उद्धृत गर्दै टाइम्स अफ इण्डियाले उल्लेख गरेको छ, ‘उहाँले कोरोना भाइरस चाँडै हराउने बताउनु भएको थियो।’