जनकपुरधाम - प्रदेश २ मा शुक्रबार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमण भएकामध्ये ५० जना रौतहटको एउटै क्वारेन्टाइनका हुन्।
शुक्रबार ९६ जना थपिएसँगै प्रदेश २ मा कुल संक्रमितको संख्या ४ सय ९६ पुगेको छ। जसमध्ये ९८ जना निको भएर घर फर्किसकेका सामाजिक विकास मन्त्रालयले जनाएको छ।
सामाजिक विकास मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरेले शुक्रबार प्रदेश २ को रौतहटमा सबैभन्दा बढी ७३ जनामा कोरोना पुष्टि भएको बताएका छन्। संक्रमण देखिएकामध्ये ५० जना रौतहटको राजपुर नगरपालिकाको राजपुर फतहवा क्वारेन्टाइनका पुरुषहरु रहेको घिमिरेले बताए। रौतहटकै बौधीमाई नगरपालिकाको सरमझुला क्वारेन्टाइनका दुई, महुलापुर क्वारेन्टाइनका ६, ईशनाथ नगरपालिकाको डुमरीया क्वारेन्टाइनका दुई महिला र १३ पुरुषसहित १५ जना रहेको उनले जानकारी दिए।
यसैगरी सप्तरीको राजविराज नगरपालिकाका पाँचजना पुरुष, धनुषाको खजुरी क्वारेन्टाइनका ५० वर्षीया एक महिला र सर्लाहीको कोडौना नगरपालिकाका दुई र मलंगवा नगरपालिकाका दुई जनामा संक्रमण पुष्टि भएको छ।
बाराको पचरुद्ध गाउँपालिकाका ४ र पर्साको जीराभवानी नगरपालिकाका एक र पोखरिया नगरपालिकाका ८ जनामा संक्रमण देखिएको छ।
सामाजिका विकास मन्त्रालयका सचिव घिमिरेले प्रदेशमा संक्रमणको दर बढेसँगै महामारी रोक्न चुनौती थपिएको बताएका छन्।