जनकपुरधाम- भारतबाट फर्किने क्रममा धनुषाको जटही नाकामा मृत्यु भएका युवकको कोरोना भाइरस (कोभिड-१९) परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।
बुधबार बिहान जटही नाकामा मृत्यु भएका धनुषाको सहिदनगर नगरपालिका–९ बस्ने ३० वर्षीय वीरेन्द्र यादवको कोरोना रिपोर्ट नेगेटिभ आएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी निरौलाले नाकामा मृत्यु भएका युवकको कोरोना रिपोर्ट नेगेटिभ रहेको जानकारी आफूहरुलाई आएको बताए। ‘युवकको रिपोर्ट नेगेटिभ आएको छ, परिवारलाई शव जिम्मा लगाउने प्रक्रिया सुरु भएको छ,’ उनले भने।
भारतको गुजरात राज्यको सुरतस्थित होटलमा काम गर्दै आइरहेका वीरेन्द्रको बुधबार बिहान धनुषाको जटही नाकामाा मृत्यु भएको थियो। नाकामा पुगेको केहीबेरपछि सशस्त्र प्रहरीले वीरेन्द्रलाई चाउचाउ र पानी खान दिएको थियो। लगत्तै वान्ता भएको वीरेन्द्रको ज्यान गएको थियो।
भोकले वीरेन्द्रको मृत्यु भएको भारतबाट सँगै आएका उनका सहकर्मीहरुले दाबी गरेका छन्। खान नपाएर वीरेन्द्रको मृत्यु भएको भन्दै भारतबाट जटही नाकासम्म आएका तीन चार सयको संख्यामा रहेको नेपालीहरु ढाट तोडेर भित्रिएका थिए।