काठमाडौं- अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलले रुपन्देहीकी १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या र पश्चिम रुकुममा गाउँलेको आक्रमणबाट पाँच जनाको मृत्युको घटनाबारे तत्काल अनुसन्धान गरी पीडितलाई न्याय दिलाउन नेपाल सरकारसँग माग गरेको छ।
दुवै घटनामा स्थानीय सरकारका प्रतिनिधि मुछिएका कारण स्वतन्त्र र प्रभावकारी अनुसन्धान गर्न उक्त संस्थाले माग गरेको छ।
एमनेस्टी नेपालका निर्देशक निराजन थपलियाले भने, 'दुवै घटनामा स्थानीय जनप्रतिनिधिको संलग्नता भएको र पीडितले न्याय नपाउने त्रास अनुभव गरेका कारण स्वतन्त्र, निष्पक्ष र प्रभावकारी अनुसन्धान हुनु अत्यावश्यक छ।'
जेठ १० गते रुपन्देहीको देवदह १२ वर्षीया बालिकाको शव रूखमा झुण्डिएको अवस्थामा फेला परेको थियो। अघिल्लो दिन उनलाई बलात्कार गर्ने उपल्लो जातको पुरुषसँग उनको जबर्जस्ती विवाह गराइएको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनलाई बलात्कारपछि हत्या गरिएको देखिएको एमनेस्टीको विज्ञप्तिमा उल्लेख छ।
एमनेस्टीका अनुसार रुपन्देहीकी बलात्कार पीडित १२ वर्षीया बालिकाको जबर्जस्ती विवाह गराउने गाउँलेको समूहमा सोही गाउँका वडा अध्यक्षको पनि संलग्नता छ ।
यस्तै पश्चिम रुकुमको एउटा गाउँमा १८ जना युवालाई उपल्लो जातको समूहले आक्रमण गरी लखेट्दै भेरी नदीको किनारसम्म पुर्याएको थियो। उक्त घटनामा पाँच जनाको शव फेला परेको छ। एक जना अझै बेपत्ता छन्। यस घटनामा संलग्न भएको भनिएका वडाध्यक्ष प्रहरी हिरासतमा छन् ।
'यी घटनाले नेपालमा दलित समुदायले सामना गरिरहेको विभेद र हिंसाको उजागर गर्दछन् जहाँ कानुन र नीतिहरूलाई पर्याप्त रूपमा कार्यान्वयन गरिएको छैन र प्रभावित समुदायहरूले संरक्षणको अभाव झेलिरहेका छन्,' थपिलयाले भने।
पश्चिम रुकुमको घटनामा मारिने पाँचमध्ये चारजना दलित समुदायका युवा छन्। उपल्लो जातको युवतीसँग प्रेम सम्बन्ध भएका नवराज विकसहित उनका साथीहरु टीकाराम सुनार, गणेश बुढामगर, लोकेन्द्र सुनार र सन्जु विक छन्। ती युवतीलाई दुलहीका रुपमा लिन उनको घर जान लागेका युवा समूहलाई वडाध्यक्षसहित गाउँले मिलेर आक्रमण गरेका थिए। आक्रमणका क्रममा ज्यान जोगाउन भागेका एकजना अझै बेपत्ता छन्।
आक्रमणमा बाँच्न सफल एक युवकले उपल्लो जातका गाउँलेले नवराज विकलगायलाई मरणासन्न हुनेगरी कुटपिट गरी नदीमा फालिदिएको आरोप लगाएका छन्।
'यो भयानक हिंसाले नेपालमा लामो समयदेखि विद्यमान जातीय विभेद, बहिष्करण तथा दलित हिंसालाई प्रश्रय दिइराखेको संरचनात्मक समस्यालाई उजागर गरेको छ,' थपलियाले भने।