काठमाडौं– एक महिनाअघि सैद्धान्तिक एकीकरण गरेका राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी पार्टी व्यवहारिक रुपमा नगाँसिदै जटिल मोडमा पुगेका छन्।
शीर्ष नेतृत्वका केही नेताको पदमा कुरा नमिल्दा पार्टी एकीकरण प्रक्रिया जटिल हुन पुगेको हो।
यद्यपि, पार्टीका शीर्ष नेताहरु भने एकीकरण भई छाड्ने दाबी गर्छन्।
समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टी एकीकरण भइछाड्ने बताए । राजपा अध्यक्ष मण्डलका संयोजक शरत्सिंह भण्डारी पनि एकीकरण प्रक्रिया अगाडि बढेको दाबी गर्छन्।
शीर्ष नेताहरुले दाबी गरिरहँदा पनि निर्वाचन आयोगलाई एकीकरणको जानकारी दिएको लामो समयसम्म पार्टी दर्ता प्रक्रिया अगाडि बढ्न सकेको छैन।
‘उपेन्द्र यादव जीको पार्टी विभाजन हुँदै थियो। यदि पार्टी विभाजन भैदिएको भए उहाँको हैसियत अहिले के हुन्थ्यो त्यो कुरा नगरौं।’ राजपाका एक नेताले नेपाल समयसँग भने, ‘उहाँहरुको पार्टी जोगाउनका लागि हामीले रातारात सहमति पत्रमा हस्ताक्षर गरिदिएका हौं।’
एकीकरणको घोषणका बेला यादवले सबै कुरा सहमतिकै आधारमा गर्ने भनेर अरुभन्दा बढी लचक देखिए पनि अहिले त्यसबेलाको सहमतिबाट पन्छिन खोजेको ती नेताले बताए।
‘पार्टी विभाजनबाट जोगिएपछि उपेन्द्रजी अहिले बठ्याइँ गर्न थाल्नुभएको छ। उहाँकै कारण यसअघि पनि एकीकरणको कुरा भाँडिएको थियो। यस पटक पनि त्यस्तै हुन्छ कि भन्ने शंका लागेको छ,’ उनले भने।
उनका अनुसार बैशाख ३१ गतेपछि एकै पटक जेठ ८ गते महन्थ ठाकुरको पहलमा बैठक भएको थियो। तर, त्यो बैठकमा उपेन्द्र यादवले ल्याएको प्रस्ताव अरुका लागि स्वीकार्य भएन।
यद्यपि, उपेन्द्र यादव निकट एक नेता भने राजेन्द्र महतोले प्रस्ताव गरेको चार सदस्यीय अध्यक्ष मण्डलमा कुरा नमिल्दा एकिकरण प्रक्रिया अघि बढ्न नसकेको बताउँछन्।
एकीकरण भई छाड्छः उपेन्द्र यादव
नेता उपेन्द्र यादव भने कुनै पनि हालतमा पार्टी एकीकरण हुने दाबी गर्छन्। यादवले भने, ‘एकीकरण हुँदैन भन्ने समाचार कसैको स्वार्थमा आएको हुन सक्छ। पार्टी एकीकरण हुन्छ नै।’
यादवले कोरोना संकटका कारण एकीकरण प्रक्रिया अगाडि बढ्न नसकेको बताए।
‘लकडाउनका कारण साथीहरुलाई ओहोर दोहोर गर्नमा समस्या छ। त्यसैले प्रक्रिया अलिक सुस्त भएको हो। अबको केही दिनमै हामी एकीकरणको प्रक्रिया टुंग्याउँछौं,’ यादवले भने।
प्रक्रिया अगाडि बढ्छ: भण्डारी
राजपा अध्यक्ष मण्डलका संयोजक शरत् सिंह भण्डारी एकीकरण प्रक्रिया अगाडि बढिरहे पनि लकडाउन र लिपुलेक प्रकरणले केही ढिलो गराएको बताउँछन्।
पार्टीभित्र विवादका विषयमा भण्डारीले भने, ‘छलफलको क्रममा असन्तुष्टि आउनु स्वभाविक कुरा हो। त्यो ठूलो मुद्दा होइन। परिस्थिति समान्य भएपछि एकीकरण प्रक्रिया तीब्र गतिमा अगाडि बढ्छ।’
कहाँ अड्केको छ हलो?
पार्टी नेतृत्वको विषयमा समाजवादी पार्टीको तर्फबाट महन्थ ठाकुरलाई सेरेमोनियल पार्टी संयोजक, बाबुराम भट्टराईलाई संघीय परिषद्को अध्यक्ष र उपेन्द्र यादवलाई केन्द्रीय समिति अध्यक्ष बनाउने प्रस्ताव आएको बताइन्छ।
यी तीनमध्ये उपेन्द्र यादवलाई सबैभन्दा बढी अधिकार हुने देखिएपछि उक्त प्रस्ताव राजपाका नेताहरुले अस्वीकार गरेका थिए।
राजपाको तर्फबाट ठाकुर र भट्टराईलाई पहिलो र दोस्रो वरियतामा राखेर पार्टी दर्ता प्रक्रिया अगाडि बढाउन सुझाव दिइएको छ।
तर, उक्त प्रस्ताव दिएको एक साता पुग्न लाग्दासमेत जवाफ नआएको राजपा नेताहरु बताउँछन्।