आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतमा चौथो चरणको लकडाउन निकै खुकुलो, कोरोना संक्रमण पनि फैलिँदो

भारतमा चौथो चरणको लकडाउन निकै खुकुलो, कोरोना संक्रमण पनि फैलिँदो

कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिरहेकै बेला भारत सरकारले दुई महिना लामो बन्दाबन्दी (लकडाउन) निकै खुकुलो बनाएको छ।
 |  मंगलबार, जेठ १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १३, २०७७

कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिरहेकै बेला भारत सरकारले दुई महिना लामो बन्दाबन्दी (लकडाउन) निकै खुकुलो बनाएको छ।

जोखिम बढी भए पनि अर्थतन्त्र धराशायी हुने भन्दै भारतले आर्थिक गतिविधि बढाउन विभिन्न कदम चालेको छ। संक्रमणको उच्च जोखिम भएका क्षेत्रबाहेक अन्य ठाउँमा यातायात तथा व्यापार-व्यवसाय खुला गरिएको छ। यसले मानिसहरुको चहलपहल बढाएको छ।

भारतले मार्च २४ देखि पहिलो चरणमा २१ दिनका लागि लकडाउन घोषणा गरेको थियो। त्यसपछि पटकपटक थप्दै मे ३१ सम्म लम्ब्याइएको छ। पछिल्लोपटक मे १८ देखि ३१ सम्मका लागि थपिएको लकडाउन भने खुकुलो बनाउँदै लगेको छ।

राज्य सरकारहरूलाई परिस्थिति हेरेर निर्णय लिने छुटसमेत दिइएको छ। राज्य सरकारहरूले आर्थिक कारोबार सुचारु गराउन व्यापार र व्यवसायसम्बन्धी विभिन्न निर्णय गरेका छन्।

ठूला बजार र उद्योगहरू पूर्णरूपमा सञ्चालन गर्न छुट दिइएको छ। ठूला बजार क्षेत्रमा एउटा छोडेर पसल खोल्न पाइने भएको छ। निजी सवारीसाधन चलाउन छुट छ। सरकारी र निजी कार्यालयहरू पनि क्रमशः खुल्दै गएका छन्।

वैवाहिक कार्यक्रममा ५० जनासम्म भेला हुन छुट दिइएको छ। कतिपय ठाउँमा रेस्टुरेन्ट पनि खुला गरिएका छन्।

भारतले सार्वजनिक यातायात पनि खुला गर्दै लगेको छ। ट्याक्सी, अटोरिक्सा, ब्याट्री रिक्सा तथा नगर बस तोकिएको सुरक्षा मापदण्डसहित चलाउन अनुमति दिइएको छ। होटल, सिनेमा हल, सपिङ मल, मेट्रो भने बन्द नै छन् । खेलस्थलमा दर्शकको उपस्थितिबिना खेलका प्रतिस्पर्धा गराउन खुला गरिएको छ।

राजधानी दिल्लीमा रेड जोनबाहेकका क्षेत्रमा बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सबै किसिमका आर्थिक गतिविधि खुला गरिएको छ।

दिल्ली सरकारका मुख्यमन्त्री अरविन्द केजरिवालले गत साताको डिजिटल पत्रकार सम्मेलनमा लकडाउनलाई मात्र निरन्तरता दिइरहँदा अर्थव्यवस्था धराशायी हुने जोखिम बढेका कारण विस्तारै जनजीवन सामान्य बनाउँदै लगिएको बताएका थिए। खोप नआउन्जेल संक्रमण नरोकिने देखिएको भन्दै उनले कोरोनासँगै दैनिक जीवन चलाउनुपर्नेमा जोड दिएका थिए।

दुई महिनादेखि बन्द रहेको आन्तरिक हवाई सेवासमेत हिजो सोमबारदेखि सुचारु भएको छ। तर केही समयका लागि सीमित उडानमात्र हुनेछन्। त्यसैगरी सर्वोच्च अदालतले जहाजमा एउटा सिट ग्याप गरेर मात्र यात्रु बसाउन पाउने आदेश दिएको छ।

उडानका लागि गृह मन्त्रालयले पनि आवश्यक दिग्दर्शन जारी गरेको छ। जसअनुसार यात्रुहरू २ घण्टाअगावै एयरपोर्ट पुग्नुपर्नेछ भने चेकइन अनलाइनबाट गर्नुपर्नेछ। साथै, उडानका क्रममा खाना, नास्ता र पत्रपत्रिका दिइने छैन। सामाजिक दूरी र यात्राका क्रममा मास्क अनिवार्य गरिएको छ। उडान गर्नुअघि र ओर्लेपछि थर्मल स्क्रिनिङ गरिनेछ।

कतिपय राज्यले हवाई यात्रा गरेपछि क्वारेन्टिन बस्न पनि अनिवार्य गरेका छन्। त्यहाँ मार्च २५ देखि आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गरिएको थियो।

भारतले अन्तर्राष्ट्रिय उडान पनि खोल्ने तयारी गरेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्। अगस्ट १ देखि अन्तर्राष्ट्रिय उडान नियमित हुने बताइएको छ।

त्यसका लागि आवश्यक मापदण्ड पनि जारी गरिएको छ, जसअनुसार यात्रुहरूले अनिवार्य रूपमा १४ दिन क्वारेन्टिनमा बस्नुपर्नेछ। ७ दिन सरकारले तोकेको कुनै क्वारेन्टिन सेन्टर र बाँकी ७ दिन घरमै क्वारेन्टिान बस्नुपर्ने व्यवस्था छ।

जुन १ देखि यात्रुवाहक रेल सेवा पनि सञ्चालन हुने निश्चित भएको छ। त्यसका लागि अग्रिम बुकिङसमेत खुला भइसकेको छ। यसअघि लकडाउनका कारण विभिन्न राज्यमा अलपत्र परेका कामदारका लागि मे १ देखि विशेष श्रमिक रेल सेवा सुरु भएको थियो। अधिकांश राज्यमा लामो दूरीका यात्रुवाहक बस यसअघि नै सञ्चालनमा आइसकेका छन्।

केन्द्र सरकारले कोरोना संक्रमणको जोखिम क्षेत्र हेरेर जुलाई १ देखि माथिल्लो तहका कक्षाहरू सञ्चालनका लागि विद्यालय खोल्ने तयारी पनि सुरु गरेको छ।

आज (मंगलबार) बिहानसम्ममा त्यहाँँ कोरोना संक्रमितको संख्या करिब १ लाख ४५ हजार पुगिसकेको छ। ४ हजारभन्दा बढीले ज्यान गुमाएका छन्। संक्रमण दर पनि तीव्र छ।

प्रकाशित: May 26, 2020| 08:15 मंगलबार, जेठ १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।