भक्तपुर अस्पतालमा किट सकिएपछि आरडिटी परीक्षण रोकिएको छ। अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सुमित्रा गौतमका अनुसारअस्पतालले पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन भने जारी राखेको छ ।
सोमबार दुई पुरुष र तीन महिला सहित पाँच जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि टेकुस्थित राष्ट्रिय प्रयोगशालामा पठाइएको छ। अस्पतालले अहिलेसम्म ७८६ जनाको आरडिटी र ६०५ जनाको पीसीआर गरी कूल एक हजार ३९२ को कोरोना परीक्षण गरेको छ ।
त्यसैगरी भक्तपुर नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । भक्तपुर नपाले शुरुमा गरेको आरडिटी परीक्षणमा एक वडा सचिव र अर्की सफाइ मजदूरको रिपोर्ट पोजिटिभ आएपछि गरिएको पीसीआर परीक्षणमा ६६ जनाको रिपोर्ट नेगेटिभ आएको भक्तपुरका एसपी सविन प्रधानले जानकारी दिए।
भक्तपुर नपाले गरेको पीसीआर परीक्षणमै उक्त नपाको वडा नं ९ की ४२ वर्षीया महिला वडा सदस्यमा कोरोना भाइरस पुष्टि भएको थियो । उनीसँगै पीसीआर गरिएकामध्ये ६६ जनाको नेगेटिभ आएको छ। भक्तपुर नपाले आफ्ना जनप्रतिनिधि, कर्मचारी तथा सफाइ मजदुर गरी २०० को पीसीआर प्रविधिबाट कोरोना परीक्षण गरेको जनाएको छ ।
त्यसैगरी भक्तपुर नगरपालिका भेलुखेलका एक पुरुषमा कोरोना सङ्क्रमण भएपछि यहाँका १६ जनाको पीसीआर परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । त्यसैगरी कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी सुत्केरी महिलाको शव व्यवस्थापन गर्ने भक्तपुरका दुई युवाको कोरोना रिपोर्ट नेगेटिभ आएको छा ।
भक्तपुरका स्वयंसेवी अरुण सैंजू र राजेश गाइँजूले काभ्रेको धुलिखेल अस्पतालबाट ती महिलाको शव गाडीमा राखेर पशुपतिस्थित विद्युतीय शवदाह गृह पुर्याई व्यवस्थापन गरेका थिए। पीसीआर रिपोर्ट नेगेटिभ आएपछि दुबैजना क्वारेन्टाइनबाट निस्किएर भक्तपुर अस्पतालमा विगतझै स्वयंसेवकको काममा फर्केका छन्।
युवा सैंजु र गाइँजूसहित चार जना युवाले सरकारले कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा व्यवस्थापन गर्न लकडाउन घोषणा गरेदेखि भक्तपुर अस्पतालमा बसेर स्वयंसेवी भएर काम गर्दै आएका छन्।
सैंजू र गाइँजूसँगै न्हुज किजू र पुनम कर्माचार्यले भक्तपुर अस्पतालमा क्याम्प नै खडा गरेर कोरोनाको परीक्षणमा आउने व्यक्ति तथा स्वाब सङ्कलन गरी पुर्याउने, आइसोलेसनमा रहेका बिरामीको रेखदेख गर्ने लगायतका काम गर्दै आएका थिए ।