जनकपुरधाम- कोरोना भाइरस संक्रमणका हिसाबले प्रदेश २ लाई उच्च जोखिमका रुपमा हेरिएको छ। प्रदेशभित्र २ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। संक्रमण पुष्टि भएकामध्ये अधिकांश भारतबाट आएका हुन्।
कोरोना संक्रमणको दर निरन्तर बढिरहे पनि प्रदेशमा परीक्षणका साथै कन्ट्याक्ट ट्रेसिङको दायरा बढ्न सकेको छैन।
क्वारेन्टिनभित्र रहेकाहरुको पनि स्वाब परीक्षणमा ढिलाइ भइरहेको छ भने संकलन भइसकेकाहरुका नतिजा आउन पनि हप्ता दिनभन्दा बढी कुर्नुपर्ने अवस्था छ।
सामाजिक विकास मन्त्रालयले सोमबार साँझ जारी गरेको विवरणअनुसार प्रदेश २ मा स्वाब संकलन भएकामध्ये १ हजार ९५३ जनाको नतिजा आउन बाँकी छ।
हालसम्म ८ हजार २५४ जनाको स्वाब संकलन भएकोमा यति संख्यामा नतिजा आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
सप्तरीमा ६८१ जनाको स्वाब संकलन भएकोमा १५४, सिरहामा ९६६ जनाको स्वाब संकलन भएकोमा २२५, धनुषामा १५ सय स्वाब संकलन भएकोमा ४६६, महोत्तरीमा २६६ संकलन भएकोमा ५२ जनाको नतिजा आउन बाँकी छ।
यस्तै सर्लाहीमा २९६ जनाको स्वाब संकलन भएकोमा ३४, रौतहटमा १ हजार ३९० स्वाब संकलन भएकोमा ५१४, बारामा ७५८ जनाको स्वाब स्वाब संकलन भएकोमा २५६ र पर्सामा २ हजार ६८५ जनाको स्वाब संकलन भएकोमा २५२ जनाको नतिजा आउन बाँकी छ।
प्रदेशका विभिन्न जिल्लामा स्थापित क्वारेन्टिनहरुमा १० हजार ६९७, होम क्वारेन्टिनमा ५ हजार ४१४ र आइसोलेसनमा ४ सय ८१ जना छन्। क्वारेन्टिनमा रहेकालाई मात्र हेर्ने हो भने दुई हजारभन्दा बढीको स्वाब संकलन हुन बाँकी छ।
स्वाब परीक्षणका लागि राष्ट्रिय स्वास्थ्य प्रयोगशालामा भर पर्नुपरेकाले नतिजा आउन ढिलाइ भइरहेको बताइएको छ। यसअघि प्रादेशिक अस्पताल जनकपुरमा दुईपटक जडान भएको पोर्टबल पीसीआर मेसिनले भरपर्दो नतिजा दिन नसकेको भन्दै परीक्षण बन्द भएको छ।
स्वाब परीक्षणमा ढिलाइ भएपछि प्रदेश सरकारले जनकपुर र राजविराजको लागि दुईवटा रियल टाइम पीसीआर मेसिन खरिद गरेको छ। जनकपुरमा जडान भएको पीसीआरबाट सोमबारदेखि परीक्षण सुरु भए पनि परीक्षणको दायरब बढ्न केही समय लाग्ने प्रादेशिक प्रयोगशालाका निमित्त निर्देशक रामविनय साहले बताए।
‘मेसिनबाट परीक्षण सुरु गरेका छौं, तर भ्यालिडेसनका लागि नमुना राष्ट्रिय प्रयोगशाला टेकु पठाउँछौं,’ उनले भने, ‘दुवै परीक्षणको नतिजा उस्तै आइसकेपछि जाँचको दायरा तीव्र हुन्छ।’
साहले राजविराजमा समेत रियल टाइम पीसीआर मेसिन जडान काम सुरु भइसकेको बताए। जनकपुरमा जडान गरिएको रियल टाइम पीसीआर मेसिनले प्रति चार घण्टा ९६ नमुना परीक्षण गर्नसक्ने बताइएको छ।