काठमाडौं- बारामा एक प्रहरी निरीक्षकसहित कोरोना संक्रमित हुने सुरक्षाकर्मीको संख्या सात पुगेको छ।
सोमबार एकै दिन कोरोना संक्रमणको पुष्टि भएका २४ जनामध्ये एक जना प्रहरी निरीक्षक रहेको खुलेको छ।
काठमाडौं घर भई जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी निरीक्षकसहित २ जना प्रहरीलाई सोमबार कोरोना पुष्टि भएसँगै बारामा संक्रमित प्रहरीको संख्या सात पुगेको हो।
आइतबार चार जना तथा त्यसअघि एक जना प्रहरीमा कोरोना संक्रमणको पुष्टि भएको थियो।
कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले सुरुमा मुद्दा शाखामा कार्यरत प्रहरी जवानलाई कोरोना संक्रमणको पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब परीक्षण गर्दा सात जनाको रिपोर्ट पोजेटिभ आएको बताए।
‘सुरुमा कोरोना पोजेटिभ देखिएका जवानको सम्पर्कमा आएका ५० जनालाई क्वारेन्टिनमा राखेर स्वाब परीक्षण गरिएको थियो’ गौतमले भने,‘बाँकी सबैको रिपोर्ट नेगेटिभ आएको छ।’