प्रधानमन्त्री केपी शर्मा ओलीले आज (सोमबार) साँझ देशवासीलाई सम्बोधन गर्ने भएका छन्।
कोरोना भाइरसको जोखिमका कारण देशभर लागू भएको बन्दाबन्दी (लकडाउन) तथा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका सम्बन्धमा उनले साँझ साढे ५ बजे सम्बोधन गर्न लागेका हुन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आजै साँझ ५ बजे मन्त्रिपरिषद् बैठक पनि बस्दैछ।
सरकारले कोरोना संक्रमणसँग जुध्न देशभर लकडाउन गरेको ६३ दिन पुगेको छ। २० जेठसम्म लकडाउन यथावत् रहने निर्णय सरकारले यसअघि नै गरिसकेको छ।
कोरोना भाइरस संक्रमण विस्तार हुन नदिन सरकारले गएको ११ चैतदेखि देशैभर लकडाउन लागू गरेको थियो।
अहिलेसम्म नेपालमा कोरोना संक्रमतिको संख्या ६७५ पुगेको छ भने ४ जनाको मृत्यु भएको छ।