जनकपुरधाम- प्रदेश २ मा एकै दिन ५४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। धनुषामा कार्यरत दुईजना सुरक्षाकर्मीसहित ५४ जनामा सोमबार संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार बिहान सार्वजनिक गरेको विवरणअनुसार धनुषाका ३, रौतहटका २६, बाराका २१ र सप्तरीको दुईजनामा कोरोना संक्रमण रहेको जनाइएको छ।
धनुषामा संक्रमण पुष्टि भएका तीनमध्ये दुईजना नेपाल प्रहरीका जवान रहेको जनाइएको छ। प्रदेश सरकारले धनुषाको नगराइन नगरपालिकास्थित गंगुलीमा सञ्चालन गरेको प्रादेशिक क्वारेन्टिनमा खटिएका नेपाल प्रहरीका दुईजना सुरक्षाकर्मीमा संक्रमण देखिएको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए।
क्वारेन्टिनबाहिर ड्युटी गर्दै आइरहेका ३१ र ४५ वर्षीय उमेर रहेका दुवैजनामा संक्रमण देखिएको निरौलाले बताए। ‘दुवैजना क्वारेन्टिनबाहिर कागजपत्र तथा रेकर्ड मिलाउन खटिएका थिए। क्वारेन्टनभित्र प्रवेश गरेको जस्तो लागेको छैन्,’ प्रमुख जिल्ला अधिकारी निरौलाले भने, ‘सुरुदेखि बाहिर खटिइरहेका उनीहरुमा संक्रमण देखिएको छ।’
यसैगरी धनुषाकै नगराइन नगरपालिका–३ फुलगामा बस्ने ३० वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ। संक्रमण पुष्टि भएका उनी ६ जेष्ठमा भारतको दिल्लीबाट आएर गंगुली क्वारेन्टिनमा बसेको क्वारेन्टिन संयोजक सन्तोष ठाकुरले जानकारी दिए। तीनैजनाको ७ जेठमा स्वाब संकलन भएको थियो।
रौतहटको राजपुर फरहदवा नगरपालिका वडा नम्बर २, ६, ८ र इशनाथ नगरपालिका वडा नम्बर २ मा सोमबार २६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यता बाराको कलैया नगरपालिका–१ कोटबालीमा दुई र गढीमाई नगरपालिकामा २१ जना तथा सप्तरीको डाक्नेश्वरी गाउँपालिकामा दुईजनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।