कोरोना संक्रमितको संख्याका हिसाबले भारतले इरानलाई पनि उछिनेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार भारत अब कोरोना संक्रमित सबैभन्दा बढी भएका विश्वका १० वटा देशको सूचीमा परेको छ।
यो सूचीमा शनिबारसम्म इरान १० नम्बरमा थियो, जहाँ १ लाख ३३ हजार ५३१ संक्रमित थिए। तर, आइतबार भारतमा कोरोना संक्रमितको संख्यामा उछाल आएपछि इरान ११ औं नम्बरमा पुगेको छ।
भारतमा कोरोना संक्रमितको संख्या १ लाख ३८ हजार ५३६ पुगेको छ। यद्यपि, मृत्युको मामलामा भने भारत इरानभन्दा निकै पछि छ। भारतमा अहिलेसम्म ४ हजार २४ जनाको मृत्यु भएको छ भने इरानमा ७ हजार ४१७ जनाको।
उता, ब्राजिलमा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको छ। उसले रुसलाई पनि उछिनेर दोस्रो नम्बरमा पुगेको छ। त्यहाँ ३ लाख ४७ हजार ३९८ संक्रमित भएकोमा २२ हजार १३ जनाको मृत्यु भएको छ।
तेस्रो नम्बरमा रहेको रुसमा संक्रमितको संख्या ३ लाख ४४ हजार पुगेको छ भने ३ हजार ५४१ जनाको मृत्यु भएको छ।
पहिलो नम्बरमा भने अमेरिका कायम छ। अमेरिकामा १६ लाख ३५ हजारभन्दा बढी संक्रमित भएकोमा ९७ हजार ५ सयको मृत्यु भएको छ।
चीनको वुहानबाट गत डिसेम्बर अन्तिम साता सुरु भएको यो भाइरस विश्वभर फैलिसकेको छ। करिब ५८ लाख यसबाट संक्रमित भएका छन् भने ५ लाख ४३ हजार ६१७ जनाको मृत्यु भइसकेको छ।