कपिलवस्तु– राष्ट्रिय मदरसा संघ नेपालले ईदुल फित्रका दिन घरमै बसेर नमाज पढन आग्रह गरेको छ। संघले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको जोखिम बढ्दै गएकाले घरमै बसेर नमाज आदा गर्न आग्रह गरेको हो।
रमजान महिनाको अन्त्यमा मनाइने प्रमुख पर्व ईदुल फित्रका दिन मस्जिदमा गएर सामूहिक नमाज आदा गर्ने प्रचलन छ। रमजानको सुरुको दिन पनि
कोरोना भाइरस संक्रमणको जोखिमलाई ख्याल गर्दै इस्लाम धर्मावलम्बीहरुले घरमै बसेर नमाज आदा गरेका थिए।
प्रदेश–५ मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद खांले नमाज पढेपछि छरछिमेकमा पुगेर शुभकामना आदानप्रदान नगर्न समेत आग्रह गरेका छन्।
इस्लाम धर्मावलम्बीहरु रमजान महिनामा दिनभर निराहार वर्त अर्थात रोजा (उपवास) बसेर नमाज आदा गर्ने गर्दछन्।
रमजानको अन्तिम दिन ईदुल फित्र नमाज आदा गरेपछि एक महिना लामो उपवास तोडिन्छ।
इस्लाम धर्मावलम्बीहरूको पर्व ईदका दिन सोमबार सरकारले सार्वजनिक बिदासमेत दिएको छ।