महेन्द्रनगर- स्वदेश आउनका लागि भारतीय सीमा क्षेत्रमा अलपत्र नेपालीलाई कञ्चनपुरको सीमावर्ती गड्डाचौकी नाकाबाट प्रवेश दिइने भएको छ ।
जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले कञ्चनपुरका विभिन्न सीमा नाकाबाट नागरिकहरु जथाभावी भित्रिँदा कोरोना संक्रमणको जोखिम बढेको निस्कर्ष निकाल्दै गड्डाचौकी नाकाबाट व्यवस्थित ढंगले भित्र्याउने निर्णय गरेको हो।
यसरी भित्रिने नागरिकको स्वास्थ्य परीक्षणका साथै विस्तृत विवरण संकलन गरी स्थायी ठेगाना रहेको स्थानमा क्वारेन्टाइनमा राखिने निर्णय भएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले जानकारी दिएका छन्।
यसअघि भारतबाट आएका नेपालीहरुलाई स्वदेश आउन रोक लगाइएपछि उनीहरु सीमामा अलपत्र पर्नुका साथै अधिकांश लुकिछिपी नेपाल प्रवेश गरिरहेका थिए।
कञ्चनपुर जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाभर अत्यावश्यक औषधोपचारबाहेक सम्पर्ण व्यापार, व्यवसाय, र पसलहरु अर्को व्यवस्था नभएसम्मका लागि पूर्ण बन्द गर्ने पनि निर्णय गरेको छ ।