काठमाडौं- भारतबाट आएका एक युवकमा धनगढीमा कोरोना संक्रमण पुष्टि भएको छ। अछामको मेल्लेख गाउँपालिका–४ कुस्कोट घर भएका ३२ वर्षीय युवकमा धनगढीमा कोरोना पुष्टि भएको हो।
जेठ ८ गते गौरीफन्टा नाका हुँदै नेपाल आएका ती युवकमा कोरोना पोजेटिभ देखिएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले सीमामा आरडिटी परीक्षणका क्रममा पोजेटिभ देखाएपछि सेती अस्पतालको आइसोलेसनमा राखेर स्वाब परीक्षण गरिएको जानकारी दिए।
आइतबार दिउसो २ बजे नै कोरोना संक्रमण पुष्टि भएको श्रेष्ठले जानकारी दिए। उनले समयमै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा पठाइसकेको बताए।
यद्यपी स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएन। संक्रमित युवकको स्वास्थ्य अवस्था समान्य रहेको अस्पतालले जनाएको छ।
संक्रमित युवा जेठ ८ गते गौरीफन्टामा करिब साढे दुई हजारको भीडमा थिए। सोही भीडमा रहेका ५ जनामा कोरोना पुष्टि भएको थियो।
संक्रमित युवकसँगै आएका उनकै गाउँपालिका मेल्लेखका ४९ जना क्वारेन्टिनमा राखिएको गाउँपालिका अध्यक्ष लोगबहादुर बोहोराले जानकारी दिए।
यो सँगै प्रदेशभरी संक्रमितको संख्या १५ पुगेको छ। यसअघि धनगढी प्रयोगशालामै परीक्षणका क्रममा शुक्रबार ५ र शनिबार ४ जनामा कोरोना पुष्टि भएको थियो।
यसअघि शनिबार कोरोना पुष्टि भएका बैतडीको शिवनाथ गाउँपालिकाका वडा नम्वर १ र २ का २०, २०, २२ र २७ वर्षीय पुरुषको पनि सेतीमै उपचार भइरहेको छ।
शुक्रवार मात्रै कैलालीको जानकी गाउँपालिकाका १९, २३ र २६ बर्षीय युवक, डडेल्धुराको परशुराम नगरपालिका वडा नम्वर १० का २८ वर्षीय युवक र बैतडीको शिवनाथ गाउँपालिकाका २२ वर्षीय युवकमा कोरोना पुष्टि भएको थियो।
उनीहरुको टीकापुर, डडेल्धुरा र बैतडी अस्पतालमा उपचार भइरहेको छ।