काठमाडौं- बाँकेको नरैनापुर गाउँपालिकामा कोरोना भाइरस संक्रमितको संख्या बढेपछि गाउँपालिकालाई निषेधित क्षेत्र घोषणा गरिएको छ।
नरैनापुरमा अहिलेसम्म ११४ जनालाई कोरोना भाइरस संक्रमण भएको छ भने १ जनाको निधन भएको छ।
गाउँपालिकाले केही दिनअघि उच्च जोखिमयुक्त क्षेत्र घोषित गरी सिल गरेको थियो।
भारतबाट अझै नेपालीहरु फर्कने क्रम रहेको र समुदाय स्तरमा संक्रमणको उच्च जोखिम भएको भन्दै जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले निषेधित क्षेत्र घोषणा गरेको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिएका छन्।
समितिको निर्णयमा भनिएको छ, 'मिति २०७७।२।११ गते साँझ ८ बजेदेखि लागू हुने गरी अर्को सूचना नभएसम्म नरैनापुर गाउँपालिकाका सम्पूर्ण क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्ने र उक्त आदेशको प्रभावकारी कार्यान्वयनका लागि भैरवप्रसाद गणसमेत सम्पूर्ण सुरक्षाकर्मीलाई तत्काल परिचालन गर्ने।'