आइतबार, भदौ ७, २०८३

प्रदेश २ : क्वारेन्टिन र आइसोलेसनको ‘बेहाल’

दुई महिनाअघि ढोकासम्म आइपुगेको संकट सामना गर्न प्रदेश र स्थानीय सरकारले पूर्वतयारी गरेकाे देखिएन।
 |  आइतबार, जेठ ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ११, २०७७

जनकपुरधाम- प्रदेश २ को मुकाम जनकपुरमा जनकपुरधाम उपमहानगरपालिकाले चार दिनअघि वडा नम्बर–४ मा ५० बेडको क्वारेन्टिन निर्माण गर्यो।

सरकारले दुई महिनाअघि नै हरेक पालिकालाई क्वारेन्टिन बनाउन दुई परिपत्र गरे पनि जनकपुर उपमहानगरपालिका कार्यालयले क्वारेन्टिन बनाउन सकेको थिएन।

गोपाल धर्मशालामा निर्माण गरेको ५० बेडको क्वारेन्टिनमा शनिबार राति एक्कासि मानिसहरु थपिए। त्यहाँ धनुषाको मुख्य नाका जटही हुँदै भारतबाट आएका २८ जना थपिएका थिए। अपराह्न ४ बजे क्वारेन्टिनस्थल गोपालधर्मशाला आइपुगेका उनीहरुलाई बस्ने ठाउँ थिएन।

स्थानीय केही युवाको पहलमा केहीलाई वडा नम्बर ७ का अध्यक्ष रामजानकी साहको पहलमा सञ्चालन गरिएको क्वारेन्टिनमा पुर्याइयो। केहीलाई धर्मशालाका व्यवस्थापकसँग कुरा गरेर माथिल्लो तलामा राखियो।

भारतमा अलपत्र परेकालाई अहिले जिल्ला प्रशासनको सहजीकरणमा नेपाल भित्र्याइँदै छ। प्रदेश २ का प्रायः सबै नाकाबाट हरेक दिन भारतबाट नेपाली आइरहेका छन्। भारतबाट नाकासम्म आइपुगेपछि सामान्य स्वास्थ्य जाँचपछि सम्बन्धित स्थानीय तहको जिम्मा लगाएर क्वारेन्टिनमा राख्नुपर्ने व्यवस्था गरिएको छ।

तर, भारतमा रहेका नेपालीहरु आआफ्नो घर फर्किन थालेपछि अहिले क्वारेन्टिनको व्यवस्थापन चुनौतीपूर्ण बनेको छ। प्रदेशको मुकाममै भारतबाट आएकालाई क्वारेन्टिनमा राख्ने उपयुक्त व्यवस्था छैन। प्रदेशका अन्य स्थानमा समस्या हुनुलाई आश्चर्य मान्न नसकिने गोपाल धर्मशालामा भारतबाट आएकाहरुलाई बस्न व्यवस्थापन गरेका युवा राकेशविक्रम साह बताउँछन्।

‘लकडाउन दुई महिना पुगिसके पनि प्रदेश सरकार र स्थानीय तहले दूरदर्शिता नअपनाउँदा अहिले क्वारेन्टिन र आइसोलेसनको समस्या देखिएको छ,’ साह भन्छन्। कोरोनाविरुद्धको लडाइँसँग सामना गर्न दुई महिना पाउँदासमेत प्रदेश र स्थानीय सरकारले केही गर्न नसकेको उनको भनाइ छ।

नगराइन नगरपालिकाको गंगुलीमा प्रदेश सरकारले तयार पारेको सय बेडको क्वारेन्टिन सिल छ। त्यहाँ रहेका चारजनामा कोरोना संक्रमण भेटिएपछि क्वारेन्टिन सिल गरिएको हो। अन्य स्थानीय तहले आआफ्ना पालिकामा क्वारेन्टिन तयार पारेका छन्। भारतबाट आउने नेपालीको क्रम बढेकाले क्वारेन्टिन संख्या अपुग हुने निश्चित छ।

‘जनकपुरमा रहेका अन्य धर्मशाला, यात्री निवासलगायतका स्थानमा क्वारेन्टिन बनाउन सकिन्थ्यो। तर सरोकारवाला निकायले समयमा ध्यान नदिँदा अहिले समस्या निम्तिएको छ,’ स्थानीय युवा सुशील कर्ण बताउँछन्। दुई महिनाअघि ढोकासम्म आइपुगेको संकट सामना गर्न प्रदेश र स्थानीय सरकारले पूर्वतयारी नगरेको उनको भनाइ छ।

सर्लाहीको गोडैताका १३ जनामा शनिबार कोरोना संक्रमण पुष्टि भयो। क्वारेन्टिनमा रहेका उनीहरुलाई तत्काल आइसोलेसनमा पठाउनुपर्ने थियो। तर, कोरोना संक्रमितको उपचार गर्न आइसोलेसनको अत्तापत्तो दिएन। नारायणी उपक्षेत्रीय अस्पताल र प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसन पहिलेदेखि भरिभराउ थियो।

हतारहतार गरेर शनिबारै सर्लाही सदरमुकाम मलंगवास्थित नर्सिङ क्याम्पसमा ५० बेडको आइसोलेसन वार्ड तयार गरियो। र, थप भएका नयाँ संक्रमितलाई त्यहाँ राखियो।

प्रदेश प्रहरी कार्यालयले दिएको जानकारीअनुसार विगत ६ दिनमा प्रदेश २ स्थित विभिन्न जिल्लाका मुख्य नाकाबाट ४ हजार ६ सय ६४ नेपाल भित्रिएका छन्। भारतले रेल सञ्चालन गरिसकेकाले यो संख्या अझै बढ्न सक्ने अनुमान छ।

नेपालीको थप आगमनलाई ध्यान दिएर प्रदेश र स्थानीय सरकारले अझै तयार हुन नसकेको बताउँछन् चिकित्सक डा.अजय झा। ‘क्वारेन्टिन र आइसोलेसन पहिलो प्राथमिकतामा पर्नुपर्दथ्यो। तर प्रदेश र स्थानीय तहको प्राथमिकतामा अझै परेको छैन,’ डा.झा भन्छन्, ‘अझै त्यसतर्फ ध्यान नपुर्याइए प्रदेशभित्र विकराल अवस्था आउन सक्छ।’

बेड संख्याभन्दा बढी क्वारेन्टिनमा

सामाजिक विकास मन्त्रालयको तथ्यांंकअनुसार धनुषाको २४ वटा क्वारेन्टिन गरी ६९५ बेड तयार पारिएको छ । तर, शनिबारसम्म धनुषामा ७५२ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रदेशका आठ जिल्लामा ११ हजार ७८७ बेड र ८ हजार १८९ जना क्वारेन्टिनमा रहेको मन्त्रालयको तथ्यांक छ।

कोरोना संक्रमणको संख्या बढेसँगै जनकपुर र वीरगन्जबाहेक सप्तरी, सिरहा, महोत्तरी, रौतहट र बारामा समेत आइसोलेसन तयार गरिसकिएको प्रदेश सरकारको दाबी छ।

प्रकाशित: May 24, 2020| 16:15 आइतबार, जेठ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।